www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका चार गाउँमा पानी लिन कुवा धाउनुपर्ने बाध्यता

बागलुङ ।

गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाइधुवाइका लागि सधैं पानीको अभाव ।

खानेपानीसमेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलांखुरी, सानोलंगाउँ, सल्ले फुर्का, खाड लगायतका गाउँका सर्वसाधारणले निकै लामो समयदेखि खेप्दै आएको दुःख हो यो । चुनावको समयमा गहकिला भाषण र चहकिला सपना बोकेर गाउँमा आउनेको कमी भने कहिल्यै भएन ।

Batas

घण्टौंको बाटो हिँडेर जङ्गल छेउछाउका कुवा र पोखरीमा पुगेर घर चलाउने पानीको जोहो गर्ने सानो लंगाउँकी दया थापालाई एक वर्ष अघि सम्म गाउँमा कुनै दलको नेता आएको छ भन्ने थाहा भए चरचरी बाझ्न मन लाग्थ्यो । चुनावका बेला मिठा भाषण गर्ने, पानीको गाग्रो भरिएको जस्तै आश्वासन दिने तर, पानीको जोहो गर्न कुवामै धाउनुपर्ने बाध्यताले कहिल्यै नछोडेपछि उनको रगत तात्ने गरेको थियो ।

“कुरा गर्ने काम नगर्नेलाई देख्दा भित्रैबाट रिस उठ्थ्यो, हाम्रो बाध्यतालाई राजनीतिको मसला बनाउँथे,” थापाले भनिन् – “साँच्चै मैले जो आएपनि गाली गर्ने गरेकी थिएँ ।” पानीको अभाव रहेका गाउँमा ठूलो योजना बनाएर खानेपानी उपलब्ध गराउने प्रयास गरिएको भए पनि निकै लामो समयदेखिका प्रयास असफल हुँदै आएका थिए ।

बीस वर्ष पहिला साविकको पाला गाविसको तितौरेबाट पानी ल्याउने योजना बनाइएको भए पनि यी गाउँहरुमा पानी पुग्न २० वर्ष लाग्यो । द्वन्द्वको समयमा जनप्रतिनिधि नभएको र ठूलो योजना भएकाले सञ्चालनमा विविध बाधा व्यवधान आइलागेकाले योजना सम्पन्न गर्न कठिन थियो ।

अहिले पनि उल्लिखित सबै गाउँमा खानेपानी पर्याप्त त छैन तर दिनमा एक दुई गाग्री भए पनि पानी भर्न पाएकामा स्थानीय बासिन्दा हर्षित छन् । “खिमराज सरलाई देख्दा बेस्सरी गाली गर्ने मेरी बुहारी अचेल खुसी छे,” बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खिमराज सापकोटालाई लक्षित गर्दै सानो लंगाउँकी पृथ्वीकला थापाले भनिन् – “अचेल बुहारीले उनलाई देख्दा खुशी व्यक्त गर्ने गरेकी छन् ।”

स्थानीय उपभोक्ताको २० प्रतिशत र बागलुङ नगरपालिकाको ८० प्रतिशत लगानीमा आठ किलोमिटर परबाट पानी ल्याएर चारगाउँमा खानेपानी वितरण गरिएको छ । यो योजना कुल ७७ लाखको लागतमा सम्पन्न भएको हो । चारवटै गाउँमा धेरथोर पानी पुगेको भए पनि एक घर एक धारा कार्यक्रम अन्तर्गत १५६ धारा बनेका छन् । एक वर्ष पहिले पुरानो अल्झेको योजनालाई पुनः सञ्चालनमा ल्याएर सुख्खा गाउँमा खानेपानी पुर्याइएको हो ।

“‘सुख पाउने गरी त पानी आएको छैन,” बानपा–६ तीनतलेकी नन्दकली सापकोटाले भनिन् – “अहिले धरामा आउने पानीले घाँटी भिजेको छ ।” उनका अनुसार दिनमा एक पटक दश पन्ध्र मिनेट मात्रै आउने पानीले सामान्य घरका कामका लागि मात्र हैन खाना पकाउन तथा भाँडा धुन चल्ने गरेको छ ।

धारामा आएको पानीले नपुग्नेहरुले गाउँ छेउछाउमा रहेका कुवा तथा पोखरीको पानीको प्रयोग गर्ने गरेका छन् । लुगा धुने नुहाउने, पशु चौपायालाई खुवाउने पानीका लागि अझै पनि समस्या रहेको सापकोटाले बताइन् । नजीकमा पानीको मुहान नरहेको र टाढाबाट पानी ल्याउँदा ठूलो रकम खर्च हुने भएकाले सानातिना योजना सञ्चालन गरेर यहाँका सर्वसाधारणलाई पानी उपलब्ध गराउन कठिन हुने वडाध्यक्ष सापकोटाले बताए ।

पानीको अभाव रहेको तल्लो भेगका गाउँहरुमा काठेखोलाको पानी लिफ्टिङ गरेर वितरण गर्ने योजना बनाएको उनले बताए । बागलुङ बजारमा खानेपानी उपलब्ध गराउने गरी सञ्चालनमा रहेको लिफ्टिङ योजनालाई केही माथि उठाएर सबै घरमा पर्याप्त पानी पुग्ने गरी एक घर एक धारा निर्माण गरिने योजना उनले सुनाए ।

“तल्लो भेगमा लिफ्टिङको पानी उपलब्ध गराउन सकियो भने अहिले वितरण भैरहेको पानी थप उपल्लो भेगमा जान्छ,” सापकोटाले भने –‘अबको दुई वर्षमा कसैले गाली नगर्ने गरी खानेपानी पुर्याउने लक्ष्य छ ।” वडा कार्यालय र नगरपालिकाको सामान्य पहलले मात्रै पानीको उपयोगमा केही सहज भएको भन्दै स्थानीय बासिन्दाले पर्याप्त पानीको आपूर्ति व्यवस्था मिलाइदिन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छन् ।

“पानीकै कारण बसाइँ सर्नु पर्ने अवस्था थियो, अहिले केही सहज भएको छ,”’ स्थानीयवासी सुरत केसीले भने – “यहाँ पानीको सहजताका लागि हाम्रा सरकारहरुले दीर्घकालीन सोच बनाऊँन् ।” व्यावसायिक भैंसीपालन गरिरहेका केसीले दिनमा केही समय मात्र धारामा आउने पानीले अपर्याप्त हुने गरेको गुनासो समेत गरे ।

पानीको अभावका कारण यहाँका विद्यालय, सामाजिक संस्था, सार्वजनिक निकायहरु समेत प्रभावित हुने गरेका छन् । नगरपालिकाले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेकाले सुख्खा गाउँहरुमा पानी पर्याप्त हुने गरी योजना बनाएर अघि बढ्ने नगर प्रमुख जनकराज पौडेलले बताए ।

केही साना योजनाहरुको काम तत्काल थालिने र ठूलै योजना बनाएर पानी ल्याउनु परेमा प्रदेश सरकार तथा केन्द्र सरकारसँगको सहकार्यमा योजना बनाइने प्रतिवद्धता पनि उनले जनाए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.