www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ अर्नाकोटमा विमानस्थलको ‘डिपिआर’ तयार

बलेवा ।
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।

उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए । “विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ”, अधिकारीले भने, “समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।” यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।

Batas

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । “यहाँ विमानस्थल बनेमा ढोरपाटनसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पासम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन्”, कुँवरले भने, “सडक सञ्जाललाई स्तरोन्नति गर्न सकियो भने बिरामीले काठमाडौँसम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन् ।”

ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले दुई अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने ४० लाख खर्च भइसकेको छ ।

यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे ।

पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.