www.tandavnews.com
Fact ~ In search of truth

रक्सी खान छोड्नेलाई पर्वत प्रहरीको सम्मान

पर्वत : कुस्मा नगरपालिका–८ चुवाका टेकबहादुर परियारले जीवनमा प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको हातबाट सम्मान हुन्छु भन्ने कहिल्यै सोचेका थिएनन्। मदिरा सेवन गर्दै जीवनको धेरै समय खेर फालेका उनले जिल्लाकै प्रमुखहरूबाट सम्मान पाउँछु होला भनेर सोचून् पनि कसरी  टेकबहादुरजस्तै नन्दकली परियारले पनि सिडिओ र डिएसपीसहित जनप्रतिनिधिबाट सम्मान पाइन्। उनलाई पनि जीवनमा सम्मान पाउँछु होला भन्ने पटक्कै लागेको थिएन।

टेकबहादुर र नन्दकली जस्तै मदिरा सेवन गर्दै आएका चुवाका अरू धेरै जना व्यक्तिहरू पनि एकै ठाउँमा सम्मानित भए।  उनीहरूले यो सम्मान पाउनुको कारण भने मदिरा त्याग गर्नु हो। जीवनको महत्त्वपूर्ण समय मदिरा पिएर बिताएका उनीहरूले मदिरा सेवन नगर्ने प्रतिवद्धता जनाए, अनि मदिरा सेवन गर्न पनि छाडे। यही कारण जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र  र स्थानीय जनप्रतिनिधिहरूले सम्मान कार्यक्रम आयोजना गरेर मदिरा सेवन गर्न छाडेकाहरूलाई सम्मान गरेका हुन्।

सम्मान पाउनेहरू मख्ख देखिन्थे भने उनीहरूले बल्ल मात्र मदिरा सेवन नगर्दाको आनन्दको अनुभूति गरे। नन्दकली परियार भन्छिन, ‘रक्सी खाएसी न काम गर्न सकिने, न अरूसँग मिल्न सकिने, अहिले खाएकी छैन, परिवारमा झगडा पनि हुन छोडेको छ।’ अहिलेबाट मदरी सेवन गर्न छाडेका अर्का स्थानीय मनबहादुर परियारले भने, ‘रक्सीले हामीलाई नै खाँदो रहेछ भन्ने थाहा पाएँ। रक्सीले रोगी बनाउँदो रहेछ, शरीरको गति पनि सकिने रहेछ। यसले गर्ने खराबीका बारेमा थाहा पाएर अहिलेसम्म खाँदै आएको रक्सी अहिले छोडेँ। आनन्द भएको छ।’

Batas

मदिरा छाड्नेहरुलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्री, सामुदायिक सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक पूर्णिमा थापा, वडाध्यक्ष राजकुमार क्षेत्रीलगायतले खादा, माला र टीका लगाएर सम्मान गरेका थिए। यो अभियानले मदिरा सेवन गर्दै आएकाहरूलाई मदिरा त्याग्नका लागि उत्प्रेरित गर्ने डिएसपी अर्याल बताउँछन्।

‘समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रहेर हामीले यो अभियानको सुरुवात चुवाबाट गरेका छौँ। कुरा बुझाएपछि धेरै वर्षदेखि मदिरा सेवन गर्दै आउनुभएकाहरु पनि छोड्नका लागि तयार हुनुभएको छ,’ उनले भने, ‘टोल र समाजमा हुने सानादेखि ठूलासम्मका मतभेद र अपराध मदिराकै कारण धेरै हुने गरेका छन्। यो तरीकाले सामाजिक अपराधमा न्यूनीकरण गर्न सक्छ भन्ने हाम्रो अपेक्षा छ।’ सम्मान कार्यक्रमहरूमा सहभागी स्थानीयहरुले मदिरा छोडेकाहरूलाई बधाई दिँदै मदिरा सेवन गर्दै आएका अन्यलाई समाजमा शान्ति सुरक्षा कायम हुन नदिने, झैं झगडा हुने तथा घरेलु हिंसाको प्रमुख कारण नै मदिरा भएको भन्दै मदिरा सेवन गर्नेहरूलाई छाड्ने आग्रह गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.