www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री बाँस्कोटा भन्छन् ‘विकासको नयाँ मोडल प्रदेश नं २ बाट’

बर्दिवास । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उनले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताए।

सङ्घीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उनले बताए। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उनले जिकिर गरे ।

Batas

“सङ्घीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भने , “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ ।” सङ्घीय सरकारले यसै दिशामा आफ्ना सारा प्रयत्न जनतालाई परिवर्तनको अनुभूति गराउनमा केन्द्रित गरेको उनको भनाइ थियो ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र प्रदेशका सबै जनताको साझा सम्पति रहेको बताए। उनले यसलाई समयअनुसार विकास गर्दै लाने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

रेडियो नेपालको प्रदेश २ को प्रादेशिक प्रसारण सेवा आजदेखि बर्दिवासमा औपचारिक रुपमा शुरु भएको छ । प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र प्रदेश–२ का मुख्यमन्त्री राउतले स्टुडियोबाटै शुभकामना मन्तव्य दिएर शुभारम्भ गरेका हुन् ।

प्रादेशिक प्रसारण सेवाको उद्घघाटनसँगै दैनिकरुपमा प्रदेश नं २ को बर्दिवास प्रशारण केन्द्रबाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषामा समाचार तथा अन्य कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कार्यक्रममा जानकारी दिए । निकट भविष्यमा नै बर्दिवास प्रशारण केन्द्रको क्षमता विस्तार गरेर सात भाषामा दैनिक १८ घण्टा प्रशारण पु¥याउने लक्ष्य रहेको उनको भनाइ थियो ।

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण गर्न थालेको छ । प्रादेशिक प्रसारण सेवा अहिले तत्काल दैनिक दिउँसो ३.१५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने रेडियो नेपाल, प्रदेश–२ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिए । रेडियो नेपालको प्रादेशिक प्रसारणको नयाँ भवन रु दुई करोड ११ लाखको लागतमा निर्माण शुरु आजै गरिएको छ । नौ महीनाभित्र सो भवन निर्माणको काम सम्पन्न हुने रेडियो नेपालले जनाएको छ ।(रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.