www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा वन उपभोक्ता समूहको शङ्कास्पद गतिविधि,सम्पूर्ण काम रोक्न निर्देशन

परासी ।

पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।

समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न निर्देशन दिएको हो ।

Batas

अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको अवस्थामा स्थानीय उपभोक्ताले रङ्गेहात नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएका थिए । सोधपुछको क्रममा उपभोक्ता समूहका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा ठाडो रुख कटान गरेको भन्ने उजुरीपछि डिभिजन वन कार्यालयका प्रमुख अजित कर्णले स्थलगत निरीक्षण पनि गरे ।

अनुगमनको क्रममा वन समूहको काम शङ्कास्पद देखिएपछि समूहका सम्पूर्ण काम कारवाही अर्को आदेश नभएसम्मका लागि बन्द गर्न निर्देशन गरिएको डिभिजन वन कार्यालय परासीका प्रमुख अजित कर्णले जानकारी दिए ।
सुनवल–४ मा उपभोक्ता समूहका कर्मचारीले डिभिजन वन कार्यालयबाट कटान आदेश नै नलिई ३५ लाखबराबरको काठ रातिको समयमा कटान गरी कटानस्थलभन्दा बाहिर बेवारिसे फालेको अवस्थामा स्थानीय उपभोक्ताले फेला पारेका थिए । उपभोक्ता समूहले तस्करले काटेको काठलाई संरक्षण गरेकोे भन्दै टारेको थियो ।

स्थानीय उपभोक्ता र वन समूहको कुरा बाझिएपछि सवडिभिजन वन कार्यालयमा उजुरी दिइएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत मोसाफिर भगतको संयोजकत्वमा गठित छानबिन समितिले काठ कटान वैधानिक भएको भन्दै गलत प्रतिवेदन दिएपछि उपभोक्ता आक्रोशित भएका थिए ।

स्थलगत निरीक्षण गर्दै डिभिजन वन कार्यालयका प्रमुख कर्णले उक्त उपभोक्ता समूहको बैंक खाता रोक्का गर्नुका साथै अर्को छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उपभोक्ता समूहका पदाधिकारीसहित सवडिभिजन वन कार्यालय सुनवलका प्रमुख रवीन्द्र जिसी र छानबिन समितिका संयोजकसमेत रहेका सहायक वन अधिकृत मोसाफिर भगत पनि अनुसन्धानको दायरामा परेको प्रमुख कर्णले बताए ।

वन कार्यालयका अधिकृतले मिलेमतोमा आर्थिक चलखेलमा परी गलत कामलाई नियमअनुसार कटान गरिएको भन्ने मुचुल्का बनाएर घटना ढाकछोप गरेको सुनवल–४ का उपभोक्ता खड्ग बस्नेतले बताए ।सहायक वन अधिकृत मोसाफिर भगतले भने सव –डिभिजन कार्यालय सुनवलले आफ्नै रोहवरमा रुख कटान भएको भन्ने प्रतिवेदन दिएको आधारमा बदमासी नभएको प्रतिवेदन दिएको बताए ।

स्थलगत निरीक्षणबिनै विवादित अधिकृतको प्रतिवेदनको आधारमा मात्रै निर्णय गरिनु पदको दुरुपयोग भएको सुनवल–४ का उपभोक्ता रामप्रसाद ढकालको भनाइ छ । मुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव यज्ञप्रसाद पाण्डेले भने आफूहरुले विधान र नियमानुसार काम गरेको प्रतिक्रिया दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.