www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री भएपछि पोखरामा योगेशको ‘फर्स्ट स्टेप’ निर्माणाधीन विमानस्थलमा (फोटो फिचरसहित)

पोखरा
ताण्डव न्यूज ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका छन् ।

तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन पछि मन्त्री बनेर पहिलो पटक पोखरा आएका उनले विमानस्थलको प्रगतीबारे जानकारी लिएका हुन् ।

Batas

बुधबार विहान ७ बजे पोखरा विमानस्थल ओर्लेका उनी सिधै निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षणको लागि पुगेका थिए ।

विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले भौतिक तथा वित्तिय प्रगतीको बारेमा जानकारी गराएका थिए । ‘हामी सोचेको भन्दा धेरै नै अगाडी कामको प्रगती सक्दैछौँ त्यसैले सम्झौता समय भन्दा अगावै पोखरा विमानस्थल जहाज उँडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ ।’ जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

विदेशी लगानी भित्र्याउन पनि राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सक्नुपर्ने पर्यटन मन्त्री भट्टराईको भनाई थियो ।  ‘अहिले हामीलाई विभिन्न देशका लगानीकर्ताहरुसँग छलफल गर्दा यो आयोजना किन बनेन् त्यो किन बनेन भनेर सोधिन्छ । कति आयोजनाहरु काम नभएर लड्कीरहेका छन्,’ उनले भने, ‘यस्ता आयोजना समयमै सम्पन्न भए लगानीकर्ताहरु नेपालमा लगानीमैत्री वातावरण छ भनेर पनि आउँछन् । त्यसैले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा ढिला गर्न हुँदैन ।’

संघ, प्रदेश र स्थानीय तह सबैले समन्वय गरेर विमानस्थल निर्माणको उचित वातावरण कायम राख्नुपर्ने उनको भनाई छ ।

सन २०२२ मा सम्पन्न गर्नेगरी चिनिया कम्पनी सिएएमसीले निर्माण गरिरहेको यो विमानस्थल छ महिना अगावै सम्पन्न हुने आयोजनाले जनाएको छ ।

झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना प्रमुखले जानकारी गराए ।

‘रबिन्द्र अधिकारीकै जत्तिको चासो छ’

तत्कालीन रबिन्द्र अधिकारीले पोखरा एयरपोर्टलाई दिएको जत्तिकै चासो आफुमा पनि भएको उनले संकेट गरे । ‘रबिन्द्र अधिकारीले निकै चासो दिएको एयरपोर्ट हो । अन्य माननीय ज्यूहरुले पनि पटक पटक उठाउँदै आएको विषय हो यो । राष्ट्रिय गौरवको आयोजना भएकोले हाम्रो मन्त्रालयले निकै चासोको साथ हेरिरहेको छ’ उनले भने । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रगती राम्रो रहेको र आफु सन्तुष्ट रहेको पनि बताए ।

‘यसको प्रगतीहरु राम्रो छ । त्यस कारण आयोजना प्रमुख, कर्मचारीहरु, चिनिया मित्रहरु प्रतिष्ठाको विषय बनाएर यसमा जसरी काम गरिरहनु भएको छ उहाँहरुलाई पनि नेपाल सरकारको तर्फबा म धन्यावाद दिन चाहन्छु ।’

‘जनतालाई नाङ्गेझार पारेर ठुला आयोजना बन्दैनन्’

आयोजनाका विषयमा त्यहाँका स्थानीयहरुले मुआब्जा र एयरपोर्ट तलका क्षेत्रमा सिंचाई सुविधा नपु¥याइदिएको भन्दै मन्त्रीसामु गुनासो पनि राखे ।

‘आयोजनाका विषयमा सिंचाईका, मुआब्जाका समस्याहरु छन् । कतिपय कुराहरु आयोजनाको जिम्माको कुरा हैन तर पनि भइरहेका छन् । समस्याहरुलाई हामी जनतालाई चित्त बुझाएर हल गर्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘मुआब्जा नदिएर जनतालाई एकदमै नाङ्गेझार बनाएर, खालीखुट्टा, नाङ्गो आङ बनाएर ठुला आयोजना बन्दैनन । जनताको कुरा सम्बोधन गर्नुपर्छ गर्छ नै ।’ स्थानीयहरुले मुआब्जा थोरै भएको, अझै थप गर्नुपर्ने जग्गाको मुआब्जा पहिले भन्दा धेरै दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

‘अन्तरमन्त्रालय बैठक बसेर जब पोखरामा जहाज उँड्न, अबतरण गर्न सुरु हुन्छ के यस्तै सडकले, यस्तै शहरले हामीले भनेको विजनेश गर्छ त ? भनेर छलफल अगाडी बढाईसकेका छौँ,’ उनले भने, ‘आज देखि नै यहाँका प्रदेश सरकार, स्थानीय सरकारले यस बारे सोच्नुपर्छ । जब यहाँबाट अन्तराष्ट्रिय फ्लाईट सुरु हुन्छ हाइस्टाण्डर्डमा टुरिस्टहरु आउँछन् । त्यसैले उनीहरुले के खोज्ने, कति दिन बस्ने, जति बसाउन सकियो । फाईदा यहाँ हुन्छ ।’ यहाँ फ्लाईट गर्न चाहने एयरलाएन्सका विषयमा क्यानले काम गरिरहेको उनको भनाई छ ।

उनले विमानस्थल निर्माण भइसकेपछि चिनियाँ कम्पनीका सबै कामदारलाई पोखरामा रथमा राखेर घुमाउन पनि आग्रह गरे ।

‘मान्छेमात्र बोक्ने हैन,मालसामान बोक्नुप¥यो’

‘हाम्रो इमिग्रेसनले गौतम बुद्ध र पोखराको लागि तयारी गरेका छौँ । जनशक्तिहरु लिने, तालीम दिनेकाम भइरहेको छ । आवश्यक इक्वीपमेन्टको बन्दोबस्तीको काम भइरहेको छ । रुटहरु लिने प्रक्रिया भइरहेको छ,’ उनले भने, ‘विदेशी एयरलाइन्सहरुलाई यहाँ नियमित गराउन ल्याण्डीङ चार्ज, पार्कीङ चार्ज सुविधाहरु दिनुपर्छ हामी बनाउँछौँ । धेरै प्याकेजहरु हामी बनाउछाँैँ ।’

उनले पोखरा विमानस्थलबाट जहाज यात्रुमात्र बोकेर उँडेर फाईदा नहुने बताए । ‘यात्रु बोक्नेमात्र हैन विजनेश पनि गर्नुपर्छ । यो सेवा पनि हो र विजनेश पनि हो । यहाँबाट कार्गाेहुन सक्छ,’ उनले भने, ‘कार्गोका निम्ती मालसामान चाहियो । प्लेनले मान्छे मात्रै बोक्छ की मालसामान पनि बोक्छ यहाँका जनप्रतिनिधीहरुलाई म सोध्न चाहन्छु । माल बोकेर जानुप¥यो । मान्छेमात्र बोकेर प्लेन फाईदामा हुँदैन । थुप्रै दुनियाँका एयरपोर्ट कार्गाेले मात्र पनि चलेका छन् ।’

उनले काठमाडौँको एयरपोर्टको लोडलाई क्रमश बाहिर ल्याउन खोजेको पनि बताए ।

कनेक्टीङ रोडहरु बनाउन प¥यो : अर्थमन्त्री

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एयरपोर्टको मात्र प्रगती राम्रो भएर नहुने बताएका छन् । उनले एयरपोर्टबाट दायाँ बायाँका केनेक्टीङ सडकहरु तत्कालै बनाउन सुरु गर्नुपर्ने सुझाब संघीय सरकारका पर्यटन मन्त्रीलाई दिए ।

‘एयरपोर्टलाई मुटु मान्दा यो मात्रै बनेर हुँदैन,’ उनले भने, ‘कनेक्टीभिटी सडकहरु बन्नु प¥यो । पोखरा छिर्ने कोत्रेसम्म, एयरपोर्टबाट निस्केर जाने पोखराका पृथ्वीचोकहुँदै जाने सबैठाउँमा चारलेनको सडक बनाउनु प¥यो ।’ उनले राष्ट्रिय गौरवको आयोजना पोखरामै बनिरहँदा प्रदेश सरकारसँग समन्वय नभएको भन्दै गुनासो पनि गरे ।

तस्विर : माधव भुसाल/ताण्डव न्यूज ।


© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.