www.tandavnews.com
Fact ~ In search of truth

सडकको दूरवस्थाले पर्यटकमार्फत नकारात्मक सन्देश जाने चिन्ता

काठमाडौँ ।

चार महीनापछि नेपाल भ्रमण वर्ष शुरु हुने गरी तयारी भइरहेपनि विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धवासी भने खुशी हुनसकेका छैनन् । चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरवस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीयवासी चिन्तित बनेका हुन् । टुसाल चोकबाट हायात होटलको पूर्वी पर्खाल हुँदै भित्री मार्गबाट बौद्ध स्तूप निस्कने सडकसमेत जीर्ण छ ।

सडकको बीचमा खाल्डाखुल्डीले पानी जम्दा सवारी र पैदल यात्रासमेत दुःखदायी हुने गरेको छ । हायात होटल अघिको भित्रि सडकमा पसल सञ्चालन गर्नुहुने किशोर श्रेष्ठ पानी परेका समयमा महाङ्कालदेखिको बाढी यही बाटोबाट टुसाल चोकमा आउने गरेको बताउछन् । यसका कारण सडक जीर्ण बन्दा दायाँबायाँ बस्न नसकिने गरेको उनको गुनासो छ ।

Batas

घाम लागेका बेला धूलो र पानी परेका समयमा हिलोले पसलमै बस्दा पनि सटर बन्द गर्नुपर्ने स्थानीयवासीको गुनासो छ । हायात होटलको पौडी पोखरीबाट निस्कने पानीसमेत टुसाल चोकमै दह बन्ने गरेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सांसदको समूहले दुई साता अघि यो सडकको स्थलगत अनुगमन गर्दा यो तथ्य सार्वजनिक भएको थियो ।

महाङ्कालबाट कुमारीगालतिर लगिएको खानेपानीको पाइप हायात होटल भित्रबाट लगिएको छ । हाल त्यो पाइप फुटेर पर्खालबाट बाहिर पानी पोखिएको छ । यसले पनि सडकलाई असर गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा सङ्घीय सरकारको बजेटमा सडक विस्तार एवं कालोपत्र भइरहेकामा समयमै काम नहुँदा पर्यटकीयस्थलका बारेमा गलत प्रचार हुने खतरा बढेको बताउछन् । स्थानीय सरकारका नाताले काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्माण व्यवसायीलगायत सरोकार भएका निकायलाई छिटो काम गर्न अनुरोध गर्दा पनि सुनुवाई हुन नसकेको उनको भनाइ छ ।(रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.