www.tandavnews.com
Fact ~ In search of truth

पर्वत महाशिलामा गाउँकै लगानीमा सडक कालोपत्र

पर्वत ।

कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सुत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको पर्वतको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ ।

प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा सङ्घीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ । तर, पर्वतको महाशिला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै लगानीमा ठूलो योजना शुरु गरेको छ ।

वडा नं ५ लुङ्खुदेउरालीदेखि वडा नं ४ पाखापानीस्थित गानावाङसम्मको सडक कालोपत्र गर्न थालेको हो । पाँच किलोमिटर सडक आफ्नै लगानीमा निर्माण गर्न थालेको हो ।

अहिलेसम्म पूरै कच्ची सडक मात्र रहेको उक्त गाउँपालिकामा पहिलोपटक गाउँपालिकाले सङ्घ र प्रदेशको मुख नताकी आफैँ बजेट विनियोजन गरेर सडक कालोपत्र गर्न थालेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार शनिबारदेखि उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो ।

Lama collectio News Middle

रु छ करोड ४६ लाखको लागतमा निर्माण हुनलागेको उक्त योजनाको १८ महीनाको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा फेवा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७७ मङ्सिरसम्म सम्पन्न गर्नुपर्ने सडक कालोपत्रको कामको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशका अधिकांश मुख्य–मुख्य ग्रामीण सडक कालोपत्र भइसक्ने बताए । उनले अबको समय विकास निर्माण र समृद्धिको भएकाले प्रदेश सकारले दीर्घकालीन महत्वका योजनालाई प्राथमिकता दिएको बताए । मन्त्री बस्नेतले तोकिएकै गुणस्तर र मापदण्डमा रहेर काम सम्पन्न गर्न आग्रह गर्दै यसमा जनप्रतिनिधिले निरन्तर निगरानी बढाउनुपर्ने बताए ।

आर्थिक विकासको पहिलो पूर्वाधार सडकनै भएकाले गुणस्तरीय सडक बनेपछि अन्य क्षेत्रको निर्माणमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । उनले काम गर्न सके कुनैपनि स्थानीय तहलाई बजेटको अभाव नहुने पनि बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टुक्रे योजनालाई न्यूनीकरण गर्दै दीर्घकालीन महत्वका योजनामा बजेट केन्द्रित गरिएको बताए । उनले उक्त सडक निर्माणपछि आगामी आर्थिक वर्षको बजेटमा यस्तै ठूला योजनामा बजेट विनियोजन गर्ने बताए । टुक्रे योजनामा बजेट विनियोजन गरेर काम धेरै देखाउनुभन्दा पनि थोरै तर दीर्घकालीन योजनामा बजेट विनियोजन गर्न गाउँसभाले नै निर्णय गरेको थियो ।

उक्त सडक निर्माणपश्चात दक्षिण पर्वतका पैंयु र विहादी गाउँपालिकाका साविकका एक दर्जनभन्दा बढी गाविसका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न सहज हुने भएको छ । पर्वतको फलेवास नगरपालिकास्थित लमाएदेखि लुङ्खुदेउरालीसम्मको सडक पनि कालोपत्रको काम पनि भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery