www.tandavnews.com
Fact ~ In search of truth

लमजुङको गिलुङमा पर्यटन महोत्सव हुने

पोखरा ।

लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा आगामी कात्तिक २९ र ३० गते ‘गिलुङ पर्यटन महोत्सव २०७६’ हुने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आशिष)ले गाउँको पर्यटकीय विकासमा टेवा पुर्याउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा गाउँको प्रचारप्रसार गर्ने उद्देश्यसाथ महोत्सव गर्न लागिएको जानकारी दिए ।

महोत्सवका क्रममा स्थानीय परिकारको स्वादका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने उनले बताए ।नेपालका सुन्दर गाउँमध्येको गिलुङ समुद्री सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको जानकारी दिँदै उनले चार सय घरधुरी रहेको गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाली र मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिने बताए।

गाउँका १५ वटा घरमा घरवास कार्यक्रम पनि सञ्चालन गरिएको छ । घरवासमा स्थानीय परिकारको स्वाद लिनसक्ने व्यवस्था मिलाइएको छ ।गुरुङ संस्कृतिका विविध पक्ष एक साथ अवलोकन गर्न सकिने यस महोत्सवको सफलताका लागि १०१ सदस्यीय मूलआयोजक समिति र पाँच उपसमिति गठन गरिएको समाजका उपाध्यक्ष कुशप्रसाद गुरुङले जानकारी दिए ।

क्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष नन्दजङ्ग गुरुङले महोत्सवको सफलताका लागि वडाका तर्फबाट दुई लाख र गाउँपालिकाका तर्फबाट तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै महोत्सवले यहाँको प्राकृतिक एवं सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय समाजसेवी मुछेत्र गुरुङले धेरै पर्यटकीय सम्भावना भएर ओझेलमा परेका कारण यहाँका सम्भावनालाई पर्यटन बजारमा पुर्याउन महोत्सव गर्न लागिएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.