www.tandavnews.com
Fact ~ In search of truth

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

काठमाडौं ।

पछिल्लो समय अभिभावको चेरचाह र माया नपाउँदा बालबालिका गलत बाटोमा लागेको पाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निश्कर्ष निकालेको छ ।

परिषद्ले उद्धार गरी ल्याइएका बालबालिकालाई मनोसामाजिक परामर्शपछि के कारणले त्यस्तो गलत बाटोमा लागेको भनी गरेको प्रश्नमा उनीहरुले बाबुआमाको हेरचाह र मायाको अभाव भएका बताएका छन् ।

Batas

परिषद्का अनुसार यसरी उद्धार गरिएका बालिका यौन व्यवसायमा र बालक दुव्र्यसनीमा लागेको पाइएको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको टोलीले ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट त्यस्ता बालबालिका उद्धार गरिएको जनाएको छ ।

हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको र उनीहरुलाई मनोपरामर्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराए ।

गत साउनदेखि परिषद्ले नियमितरुपमा विभिन्न कारणले सडकमा अलपत्ररुप रहेका बालबालिकाको उद्धार गर्दै आएकामा असोज मसान्तसम्म मात्रै परिषद्ले २०० बालबालिका उद्धार गरिसकेको छ । यसरी अलपत्र रहेका बालबालिका तीन वर्षदेखि १८ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिकाको उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका छन् । उक्त संस्थाले आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्थाविपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरी संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.