www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा संग्रहालय निर्माण शुरु

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडास्थित करबाकेलीमा संग्रहालय निर्माण शुरु भएको छ । परम्परागत सामग्रीको संरक्षण र ग्रामीण पर्यटन प्रर्वद्धनका लागि करबाकेली संरक्षण समितिले संग्रहालय निर्माण शुरु गरेको हो ।

म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु संकलन गरेर सङ्ग्रहालय बनाउन लागिएको निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले बताए ।

‘चन्दा सहयोग जुटाएर संग्रहालय बनाउन लागिएको हो’, अध्यक्ष पुनले भने, ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्कने किसिमको भवन बनाउने काम करीब आधा सकिएको छ, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।’ भवनमा ४५ लाख र सामग्री खरीद गर्न १५ लाख लागत अनुमान गरिएको छ ।

उनका अनुसार हालसम्म करीब २२ लाख सहयोग जुटाएर भवन निर्माणमा खर्च भइसकेको छ । हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । अन्नपूर्ण गाउँपालिकाले संग्रहालयलाई यस वर्ष पाँच लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

पुन समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज, सभाहल र खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।

स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् । मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ ।

करबाकेलीसम्म पुग्ने करीब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करीब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ कोठा रहेको उक्त होटलमा एक दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सञ्चालक रवि गर्बुजाले बताए ।

समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रस्वास्वादन गर्न पाइने पदमार्गका संयोजक यामबहादुर पुनले बताए ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.