www.tandavnews.com
Fact ~ In search of truth

गलकोटको बरेखानी गाउँभरि मौरीपालन

गलकोट ।

गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।

मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पुर्याउँछन् । ‘मौरीपालन यहाँको पुरानै पेशा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्’, गौतमले भने ।

Batas

परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ । मौरीपालनमा किसानको आकर्षण देखेर गलकोट नगरपालिकाले गत आवमा अनुदानमा आधुनिक घार उपलब्ध गराएको थियो ।

अनुदान, तालीम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने किसान बताउँछन् । बरेखानी मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पुनाराम गौतमको भनाइ छ । उनका अनुसार असोज–मङ्सिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ ।

उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । हटिया, हरिचौरलगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा बरेखानीको मह पुग्ने गरेको छ । ‘कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ’, पुनारामले भने ।

मौरीपालन थप विस्तार गर्ने उहाँको योजना छ । ‘तरकारी गाउँ’ ले चिनिने बरेखानीलाई मौरीपालनले अर्को चिनारी दिएको छ । गाउँका किसानको मुख्य पेशा तरकारी खेती हो । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । बरेखानीमा रहेका आठ घरधुरीमा स्थायी बसोबास गर्नेको सङ्ख्या त्यस्तै २२÷२४ छ ।

जनसङ्ख्या र भूगोलले सानो भए पनि बरेखानी उत्पादनका हिसाबले अगाडि छ । त्यहाँका किसानले २५ वर्षअघि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रत्येक घरले वार्षिक पाँच÷सात लाख रुपैयाँ तरकारी बेचेरै कमाउँछन् । किसानले पशुपालनलाई पनि अँगालेका छन् । कमाइको स्रोत भैँसीको दूध पनि हो ।

युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान्÷श्रीमतीमात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने किसानको सोच छ । कठिन भूगोलका कारण कृषि उपजको बजारीकरणमा भने किसानले समस्या झेल्दै आएका छन् ।

गाउँदेखि दुई किलोमिटर तलसम्म सडक पुगे पनि त्यो नियमित चल्दैन । दैनिक डेढ घण्टा तरकारी बोकेर मध्यपहाडी लोकमार्गसम्म पुर्याउनुपर्ने बाध्यता छ । गाउँको मुख्य समस्या सडक नै रहेको स्थानीयवासी चन्द्रमणि गौतमले बताए । ‘यातायातको सुविधा नहुँदा कृषि उपज बजार लैजान समस्या छ’, उनले भने ।

नगरपालिकाले बरेखानी जोड्ने सडकका लागि चालु आर्थिक वर्षमा चार लाख ५० हजार बजेट छुट्याएको छ । उक्त बजेट मर्मतमै ठिक्क हुने स्थानीयवासी बताउँछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.