www.tandavnews.com
Fact ~ In search of truth

एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै

काठमाडौं ।

पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज (बुधबार)साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

Batas

यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन् ।

‘उनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै मंगलबार नै सकिएको छ, आज साँझ उनीहरुलाई फिर्ता पठाइन्छ’, विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले भने । उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ ।

उनीहरुलाई अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको हो । ऐनमा कसुरको प्रकृतिअनुसार ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ । उनीहरुलाई आज ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ ।

आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ । प्राप्त जानकारीअनुसार एउटामा ४२ र अर्को विमानमा ८० जना जानेछन् ।

चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैधरुपमा संठित काम गरेका थिए । उक्त काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौँका प्रजिअ दाहालले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.