www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए । उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाए ।

Batas

काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सांसद विश्वकर्माको भनाइपछि पनि काँग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरे । उनले बैठक अवरोध गरे सो विषयको समाधान नहुने भन्दै सदनलाई जीवन्त र प्रभावकारी बनाउनका लागि बैठकमा छलफल सञ्चालन गर्नुपर्ने आग्रह गरेका थिए ।

सभामुखको उक्त आग्रहपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगन गरेको घोषणा गरे । प्रतिपक्ष दलले उक्त प्रकरणमा निर्णयमा प्रत्यक्षरुपमा संलग्नलाई उन्मुक्ति दिएर संलग्न नै नभएका व्यक्तिलाई छानी छानी राजनीतिक आस्थाका आधारमा अभियोग लगाएको आरोप लगाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.