www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडको त्यो गल्ली, जहाँ चल्छ विदेशीको ‘अवैध धन्दा’

पोखरा
ताण्डव न्यूज ।

साँघुरो गल्ली भित्र ठुलो सटर लिएर बाइकहरु लस्कर देखिन्छन् । यहाँ हुने बाइकहरु लगभग सबैजसो रोयल इनफील्डका ‘बुलेट’ हुन् । होण्डाको स्पोर्टस् बाइक क्रस फायर पनि लस्करमा पंक्तीबद्ध राखिन्छ ।

यो गल्ली पोखरा ६ बैदामको हो । फेवा किनारको फुट ट्रयाक निस्कने गल्ली हो, त्यो । सटरमा बाइकहरु राखिएको देख्दा लाग्छ, यो बाइकको रि कण्डीसन शो रुम हो अथवा ग्यारेज हो । दृश्य नियाल्दा, नेपालीले नै सञ्चालन गरेको आंकलन नगरिरहन सकिन्नँ । तर, यसको अन्तर्य डरलाग्दो छ । जसका तथ्यहरु ताण्डव न्यूजले फेला पारेको छ ।

Batas

हार्ट्स एण्ड टियर्सको ‘अवैध धन्दा’

हार्टस् एण्ड टियर्स मोटरसाइकल क्लब हो । यसका सञ्चालक नेपाली होइनन् । ‘म्याट’ र ‘जो’ द्धयले सन् २००६ देखि यसलाई सञ्चालनमा ल्याएका हुन् ।

नेपालका प्राकृतिक सौन्दर्यमाझ मोटरसाइकलबाटै टुर गराउने क्लबको उद्धेश्यमा उल्लेख गरिएको छ । सन् २००६ देखि नै यिनिहरुले लेकसाइडमा यो ‘धन्दा’ गरिरहेका छन् , गैरकानुनी रुपमा ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नाले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनि ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छ ।

दफा ८ को उपदफा अनुसार कसैले पनि निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइदैन । तर, यस क्लबले निजी सवारी प्रयोग गरेर बार्षिक अबौं रकम अशुलीरहेका छन् । यिनिहरुले बुकिङ पनि अनलाइनबाटै लिने गरेका छन् । विशेषतः विदेशिहरु नै यसका उपभोक्ता हन् ।

हार्ट्स् एण्ड टियर्स कै अनुसार बाइकको एक ‘सिट’को रकम १ हजार ८ सय ५० डलर अर्थात नेपाली रकम २ लाख दश हजार ७ सय ६ रुपैँया ३१ पैसा हुन आउँछ । यो साधारण प्याकेजका लागि हो । माथिल्लो मुस्ताङको ११ दिनको प्याकेजका लागि यस क्लबले प्रति ब्यक्ति ५ लाख १८ हजार २ सय २३ रुपैंया ६२ पैसा तय गरेको छ । क्लबले एक दिन बाइकमा पोखरा घुमेको १७ हजार भन्दा बढी नेपाली रकम लिँदै आएका छन् ।

एक लटमा यस क्लबबाट ८ देखि १० विदेशी मोटरसाइकल लिएर घुम्न निस्कन्छन् । प्रतिब्यक्ति ५ लाखकै हिसाब गर्ने हो भने एक महिनामा ४ लटबाट ४० व्यक्तिले करिब २ करोड बुझाउँछन् । त्यतिमात्रै होइन, यस क्लबले लेकसाइडको कार्यालयबाटै भारत र तिब्बतसम्मको टुर प्याकेज पनि लञ्च गरिरहेको हुन्छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार २०६३ पौष १३ गते ४३१९० नं मा ‘हर्ट एण्ड टियर्स ट्राभल एण्ड टुर्स’ नाममा यो कम्पनी दर्ता भएको छ ।

नेपालीलाई ऐन, बिदेशीलाई चैन

सन् २०१४ फेब्रुअरी महिनामा लेकसाडबाट भाडामा दिइएका सवारी नियन्त्रण गर्न प्रहरी कस्सीयो । त्यतिबेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कमाण्ड इन्स्पेक्टर दान बहादुर थापाले सम्हालेका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बर्खिलाप भएको र यसरी विदेशीलाई बाइक भाडामा दिँदा विभिन्न समस्या आउने जनाउँदै प्रहरीले बाइकहरु नियन्त्रणमा समेत लिएको थियो । यद्यपी अहिले पनि केही स्थानमा बाइक भाडामा दिइएको पाइन्छ । बेलाबेला त्यस्ता सवारीलाई प्रहरीले दुःख दिने गरेको गुनासो व्यवसायीहरु मार्फत पनि सुनिन्छ ।

तर, यहाँ विदेशीले वर्षौंदेखि यसरी बाइक नै भाडामा लगाएर महिनामै करोड रुपैंया बढी अशुलीरहँदा प्रशासन मौन देखिनुमाथी प्रश्न उठ्ने एक स्थानीय बताउँछन् । ‘यतिका वर्ष भइसक्यो, बाइक भाडामै लगाएर करोडौँ अशुलेको तर अहँ केही कारवाही भएन ।

नेपालीले यसो बाइक भाडामा लगाएको देख्यो भने प्रहरीले समातिहाल्ने, बिदेशिले खुलेआम देशमा बसेर लुटिरहँदा प्रशासन केही कदम चाल्दैन । कसरी मिलेमतो छैन भन्नु ?’ स्थानीयले भने ‘प्रहरीलाई थाहा भएन भनौँ भने, प्रहरीहरु पनि यहाँ आउने जाने गरेको देख्छौँ ।अझ यहाँ चोरी र भन्सार छलेर ल्याएका बाइकहरु प्रयोग गर्ने गरेको पनि सुनिन्छ ।’

महानगरको कारवाहीसँगै अध्यागमनमा उजुरी पनि !

यस विषयमा पोखरा अध्यागमनमा एक स्थानीयले उजुरी समेत दिएको स्रोतले बतायो ।

(नाम नबताउने सर्तमा) उजुरी कर्तासँग ताण्डव न्यूजले उल्लेख गरेका कुरा उनकै शब्दमा :

हार्टस् एण्ड टेयर्सले अवैध धन्दा चलाइरहेको स्थानीयलाई दुख दिएको कुरा जानकारी पाएपछि मैले वडा कार्यालयमा जानकारी गराएँ । त्यतिन्जेल त, महानगरमा पनि दर्ता रहेनछ । खास यो बाइक धुने भनेर दर्ता गरिएको भन्ने थाहा भएपछि वडा सचिव ज्यूलाई ताकेता गरेँ । वडा सचिव ज्यूले पत्र नै काटेर पठाउनुभयो । पत्र काटिएपछि ३ दिन बन्द पनि भयो । यो ३ दिनमा महानगरमा उनिहरुले ५५ हजार जरिवाना बुझाए भन्ने पनि थाहा पाएँ ।

त्यसपछि महानगरले पनि कारवाही गरिसकेको जानकारी दिँदै अध्यागमनमा उजुरी दिएँ । म्याट र जोए ले यातायात तथा सवारी व्यवस्थापन ऐन विपरीत रातो नम्बर प्लेटको सवारी भाडामा दिदैँ आएको कुरा जानकारी गराएँ । तर, उनिहरुले कारवाहीबाट बच्न दर्ता चाहिँ नेपालीको नाममा गरेका हुनसक्छन् । उनिहरुको वेबसाइट हेर्ने हो भने सञ्चालकमा उनिहरुकै नाम छ ।

यसरी हाम्रो देशमा बसेर बिदेशीले गैरकानुनी रुपमा धन्दा गरिरहँदा प्रशासनले ठोस कदम किन चाल्न सकेन खै ? जानकारी त गराएकै हो ।

गैरजिम्मेवार यातायात प्रमुख !

यस विषयमा यातायात व्यवस्था कार्यालय सवारी गण्डकी प्रदेश, पोखराका प्रवक्ता तथा निमित्त प्रमुख श्रीप्रसाद अधिकारीले गैरजिम्मेवार जवाफ दिए । ऐनमा स्पष्ट उल्लेख हुँदाहुँदै पनि कार्यालयले तत्कालै केहि गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।

‘बाइक भाडामा दिने कुरा बारे केहि मुद्धा अदालतमा छ । ऐनमा दिन पाइदैन भनिएको त छ, तर अहिले कार्यालयले तत्कालै एक्सन लिनसक्ने अवस्था चाहिँ छैन ’ अधिकारीले भने ।

‘हामी फेरी बुझ्छौँ है त’ : वडाध्यक्ष पहारी

पोखरा– ६ का वडाध्यक्ष जगत बहादुर पहारीले यसबारे थप बुझ्ने बताए । केहि समयअघि पनि यस विषयमा निवेदन परेको उल्लेख गर्दै वडाध्यक्ष पहारीले महानगरलाई यस विषयमा जानकारी गराउने सुनाए ।

‘हो, त्यो बारेमा निवेदन परेपछि हामी अनुगमनमै गएका थियौँ । दर्ता, सर्ता त रै‘छ । कागज सबै भएपछि हामी फर्कियौँ । तर बाइक भाडामा दिएको कुरा चाहिँ महानगरलाई जानकारी गराएर हामी फेरी बुझ्छौँ है त ’ उनले भने ।

‘हामी पुगिहाल्छौँ त्यहाँ’ : ट्राफिक प्रहरी प्रमुख

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख तथा इन्सपेक्टर सन्तोष रोकाले यसबारे तत्काल एक्सन लिने बताए । हालसम्म यस विषयमा जानकारी नभएको उल्लेख गर्दै उनले छानविन गर्ने सुनाए । उनले भने ‘यस विषयमा मलाई थाहै थिएन । हामी त्यहाँ पुगिहाल्छौँ, छानविन हुन्छ ।’

यसबारे बुझ्न हार्ट एण्ड टियर्सको अफिसियल फोन नम्बरमा सम्पर्क गर्दा कर्मचारी सबिता श्रेष्ठले प्याकेजको रुपमा बाइक दिने गरिएको बताइन् । उनले भनिन् ‘हामीले प्याकेजको रुपमा दिने गरेका छौं’।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.