www.tandavnews.com
Fact ~ In search of truth

बाढी तथा डुबान समाधान गर्न काम भइरहेको छ : मन्त्री पुन

काठमाडौं ।

सरकारले तराई–मधेशमा बाढी तथा डुबानसम्बन्धी समस्या समाधान गर्न एकीकृत ढंगबाट काम भइरहेको प्रष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा बाढी डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति अख्तियार गरिएको बताए ।

‘तराई–मधेशका बाढी तथा डुबानसम्बन्धी समस्या समाधानका लागि गत साउन १२ गते राष्ट्रियसभाले दिएको राय सुझावसहितको निर्देशन कार्यान्वयनको अवस्था’ सम्बन्धमा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल प्रस्तावक र खिमलाल श्रेष्ठ, अनिता देवकोटालगायत सांसद समर्थक रही राष्ट्रियसभामा दर्ता भएको ध्यानाकर्षण प्रस्तवामाथिको छलफलमा उठेका जिज्ञासाको जवाफमा उहाँले सरकार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ बाढी नियन्त्रणमा लागिपरेको बताए ।

Batas

उनले तराई–मधेसश क्षेत्रमा बाढी तथा डुबान नियन्त्रणसँग सम्बन्धित विभिन्न १४ वटा कार्यालयमार्फत तटबन्धन तथा नदी नियन्त्रणको काम भइरहेको उनले जानकारी दिए । उनले देशका विभिन्न स्थानमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि बजेटको माग भई आएको उल्लेख गर्दै विस्तृत परियोजना प्रतिवेदन तयार भएका क्षेत्रमा आगामी आर्थिक वर्षदेखि स्रोतको व्यवस्था गरी काम शुरु हुने बताए ।

नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको मर्मतका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले अन्य रुग्ण आयोजनाका लागिसमेत स्रोतको व्यवस्था गरी काम भइरहेको जानकारी दिए । चालू आर्थिक वर्षमा नदी नियन्त्रण तथा तटबन्धनका लागि संघीय सरकारले दुई अर्ब बजेट विनियोजन गरेको र दुई अर्ब ५० करोड बजेट प्रदेश र स्थानीय सरकारलाई उपलब्ध भएकाले सोही बजेटमार्फत नदी नियन्त्रणका काम भइरहेको बताए ।

उनले भने, ‘नदी नियन्त्रणका काम संघीय सरकारको मात्र नभई प्रदेश र स्थानीय सरकारको समेत भएकाले तीनै तहको समन्वयमा काम भइरहेको छ, हामीले विशेष ध्यान दिएका छौँ ।’ नेपाल र भारतबीच बाढी नियन्त्रणका लागि गठित दुई देशीय संयत्रको १२औँ बैठक सम्पन्न भएको उल्लेख गर्दै उनले भारत सरकारले ३४ करोड अनुदान सहयोगसमेत उपलब्ध गराएको जानकारी दिए ।

मन्त्री पुनले बाढी पहिरो र डुबानका सम्बन्धमा संघीय संसद्का दुवै सदनमा पर्याप्त छलफल हुँदै आएको तथा मन्त्रालयले पनि तत्काल राहत र उद्धारको काम प्रभावकारीरूपमा गर्दै आएको सदनलाई जानकारी गराए ।

जलवायु परितर्वनका कारण बर्सेनि आइपर्ने बाढी र डुबानका समस्या न्यूनीकरण गर्न मन्त्रालयले अहिलेसम्म एक हजार ७० किलोमिटर तटबन्ध निर्माण गरिसकेको र डुबानबाट बचाउन ११ हजार ९५२ हेक्टर जमीन उकास्ने काम भएको जानकारी दिए ।

वर्षायाम शुरु भएसँगै फेरि बाढी तथा डुबानका समस्या दोहोरिने हुँदा सरकार सतर्क भइरहेको बताउँदै मन्त्री पुनले सम्भावित जोखिमयुक्त क्षेत्रमा जोखिम न्यूनीकरणका लागि थप एक अर्ब २६ करोड रकम माग भएको पनि सदनलाई जानकारी गराए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.