www.tandavnews.com
Fact ~ In search of truth

आवश्यक परे होटललाई हस्पताल बनाउन तयार छौँ : पर्यटन व्यवसायी

पोखरा ।

पोखराका पर्यटन व्यवसायीले आफ्नो माग सरकारसँग राख्दै आवश्यक परे होटललाई अस्पतालमा रुपान्तरण गर्न तयार रहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारणले गर्दा अन्य क्षेत्र भन्दा पर्यटन क्षेत्रमा ठूलो मार परको भन्दै पोखराका पर्यटन व्यवसायी आफ्नो माग लिएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराई समक्ष पुगेका थिए ।

सोही क्रममा पर्यटन व्यवसायीले कोरोना संकटको वेला सरकारलाई आवश्यक परेको खण्डमा जुन सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् । आफ्नो कुरा राख्दै उनीहरुले सबै करमा ५० प्रतिशत सहुलियत दिन माग राखे । कोरोना संक्रमण नियन्त्रण हुने अवधिको निक्र्यौल नहुँदा पर्यटनमा पर्न सक्ने आर्थिक जोखिम न्युनिकरणका लागि भन्दै पोखराका पर्यटन व्यवसायीले सरकारका सबै तहले लिने करमा ५० प्रतिशत सहुलियत गर्न माग गरेका छन् ।

Batas

विश्वनै कोरोनाको संकट झेलिरहेको बेला सबै भन्दा ठूलो असर पर्यटन क्षेत्रलाई पुराएको नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सहसंयोजक अग्निप्रसाद कँडेलले गुनासो गरे । ‘नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरी बैंकबाट कर्जा लिएर पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायी ठूलो मारमा परे,’ उनले भने, ‘कोरोना संकटको बेला हामी सहयोग गर्न तयार छौ, आवश्यक परे होटल÷रेष्टुरेण्टलाई अस्पताल बनाउन परे हामी तयार छौ ।’

त्यसै गरि सरकारसँग कर्जा पुनःतालिकीकरण संकट व्यवस्थापन कर्जाको व्यवस्था, पुनःकर्जा र कर्जामा जरिवाना शुल्क हटाउन माग गरेको कँडेलले जानकारी दिए ।
व्यवसायीले लिएको कर्जा अवधिमा १ वर्ष थप र यस वर्षमा बुझाउनुपर्ने कर्जा बापतको दायित्व अन्तिम वर्षमा सार्न माग गरेको उनले बताए । कार्यरत कर्मचारीहरुको रोजीरोटी बन्द हुन सक्ने अवस्थालाई रोक्न र व्यवसायलाई निरन्तरता दिन थप संकट व्यवस्थापन कर्जा उपलब्ध गराउन उनीहरुको माग छ । बैंकको ब्याजदर पुनःकर्जामार्फत एक अंकमा सीमित गरी केही प्रतिशत ब्याजको रकम अनुदान दिन राष्ट्र बैंकसँग पर्यटन व्यवसायीको अनुरोध छ । त्यस्ता व्यवसायीलाई कर्जा विलम्ब बापतको जरिवाना नलिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।

पर्यटन व्यवसायीको माग पत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाबाट मुक्त हुन सरकार लागिरहेकाले मागका सम्बन्धमा पनि यथोचित सम्बोधन गर्ने गरी अघि बढ्ने बताए । अर्थमन्त्री युवराज खतिवडाले महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले माओवादी द्वन्द्वकालमा भन्दा पनि बढी पर्यटन क्षेत्रलाई असर गरिरहेको सुनाए । पर्यटनसहितका लगानी क्षेत्रलाई उकास्न सरकारले योजना ल्याउने उनको भनाइ थियो ।

‘संक्रमण कतिन्जेलसम्म रहिरहन्छ भन्ने ठूलो अन्योल छ,’ उनले भने, ‘लगानीका क्षेत्रलाई रुग्ण हुन नदिन सरकारले सकारात्मक कदम चाल्छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले क्षतिको पूर्वानुमान गर्न सरकारलाई नै गाह्रो अवस्था आइपरेको सुनाए । पहिलो चरणमा संक्रमणलाई नै परास्त गर्नुपर्ने उनले बताए । पर्यटनमन्त्री योगेश भट्टराईले संकटको अवस्था पार गरिसकेपछि पर्यटन क्षेत्रलाई पूर्ववत् रुपमै फर्काउन सरकारले योजना बनाउने बताए । उनले भने, ‘यस अवस्थाबाट पर्यटनलाई रिभाइज गराउन केके गर्नुपर्छ हामी तयार छौं ।’ छलफलमा पर्यटन व्यवसायीहरुले सबै प्रदेशमा भरपर्दो क्वारेन्टाइनको तुरुन्तै व्यवस्था गर्न अनुरोध गरेका थिए । कास्की २ की संघीय सांसद विद्या भट्टराई अधिकारी र प्रदेश सांसद राजीव पहारीले व्यवसायीका प्रस्तुत मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

सरकारलाई ध्यानाकर्षण गराउनकै लागि पोखराबाट अग्निप्रसाद कँडेलको नेतृत्वमा पर्यटन व्यवसायीहरुको टोली काठमाडौं पुगेको थियो । टोलीमा नेपाल पर्यटन बोर्ड सदस्य विप्लव पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायत विभिन्न पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि विकल तुलाचन, हरि भुजेल, भीमसेन भुजेल, सञ्जयकान्त सिग्देल, गोपी भट्टराई, श्री भुजेल, बासु त्रिपाठी, हरिशर्मा गैरे, नरेश भट्टराई, भरतराज पराजुली र उद्योग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सहभागी थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.