www.tandavnews.com
Fact ~ In search of truth

पञ्जाबमा एकजनाका कारण ४० हजार मानिस क्वारन्टीनमा

भारत ।

भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्।

त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो। अधिकारीहरूले बीबीसी पञ्जाबीका अरबिन्द छाबडालाई बताए अनुसार इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारन्टीनमा रहन दिइएको सल्लाह मानेका थिएनन्।

Batas

भारतमा सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ। तर विज्ञहरू सङ्क्रमितको सङ्ख्या त्योभन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्।

निकै कम परीक्षण

भारत विश्वमै निकै कम परीक्षण दरभएको देशमा पर्छ तर त्यसलाई तीब्रता दिने प्रयास जारी छ। एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ।

बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। छ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्।

उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो।

एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई भने, “हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान गरेका छौँ र त्यो सङ्ख्या बढ्दो छ। “उनी बसेको क्षेत्रका १५ वटा गाउँ हामीले बन्द (सील) गरेका छौँ।”

छिमेकी जिल्लाका अन्य पाँचवटा गाउँ पनि सील गरिएका छन्। भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई क्वारन्टीनमा रहनु परेको पहिलो पटक होइन।

राजस्थानको चिन्ता

अर्को प्रदेश राजस्थानस्थित टेक्सटाइल सहर भिलवारामा एकजना बिरामीबाट सङ्क्रमित डाक्टरहरूको एउटा समूहले सयौँ मानिसहरूमा सार्न सक्ने चिन्ता देखिएको छ।

उक्त सहरको छिमेकी गाउँहरूमा सात हजार मानिसहरू घरभित्रै क्वारन्टीनमा छन्।

भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्। बीबीसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.