www.tandavnews.com
Fact ~ In search of truth

पोखराःआन्दोलनमा उत्रिएका कृष्णटोलका १०० परिवारले पाए राहत

पोखरा ।

राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा आफूहरु प्रभावित बनेको भन्दै वडाका कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि हिजो(मंगलबार) १०० परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो ।

Batas

महानगरले वितरण गरेको राहत पाउनबाट आफूहरु वञ्चित भएको, लकडाउनले दैनिकी कष्टकर भएको र परिवार भोकै बस्नुपर्ने बाध्यता भएको भन्दै टोलवासीले राहत माग्दै आइतबार वडा कार्यालय तथा सोमबार महानगर कार्यालयमा उपस्थिति भएर नाराबाजीसहित धर्ना र घेराउ गरेका थिए ।

सोही वडाका वडाध्यक्ष रामराज लामिछानेले राहत मागेर आन्दोलन गरेका परिवारलाई वडा सदस्यको नेतृत्वमा टोली पुगेर राहत दिएको बताए । ‘राहत मागेर आन्दोलन गरेका १०० घरपरिवारलाई मंगलबार वडा सदस्यसहितको टोलीले राहत वितरण गरेको छ । हाललाई उनीहरुको चित्त बुझायौँ’, वडाध्यक्ष लामिछानेले भने । कृष्णटोलमा यसअघि पनि ५१ परिवारलाई राहत वितरण गरिएको बताइन्छ ।

महानगरले चार वा सो भन्दा बढी सङ्ख्या भएको परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । पूरा प्याकेजमा २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल तथा आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल एक केजी लगायत रहेको छ ।

कृष्णटोल विकास संस्थाका उपाध्यक्ष कान्छा लामाले राहत माग गरेका केही परिवारलाई प्राप्त भए पनि अझै केही परिवार बाँकी रहेको बताए । साँझ–बिहान चुलो बन्द भएका परिवार यसबाट लाभान्वित भएको उनको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.