www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा विकास आयोजनाका काम सञ्चालन हुन थाले

म्याग्दी ।

कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच यहाँका विकास आयोजना सञ्चालन हुन थालेका छन् ।

प्रदेश, संघ सरकारका निकाय र स्थानीय तहद्वारा सञ्चालित पूर्वाधार निर्माणका आयोजना सामाजिक दूरी कायम र कामदारको सुरक्षा सतर्कता अपनाएर सञ्चालन भएका हुन् । विकास आयोजना सञ्चालन भएपछि मजदुरहरुलाई रोजगारी सिर्जना भएर राहत मिलेको छ ।

Batas

बाहिरका कामदार भित्रन नदिने तर भएका र स्थानीय कामदारलाई परिचालन गरेर विकास आयोजना सञ्चालन भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । लकडाउन जारी भएको करिब दुई हप्तासम्म पूर्णरूपमा रोकिएका आयोजनाहरु विस्तारै सञ्चालन भएका छन् ।

‘घर जान नपाएका र स्थानीय मजदुरलाई परिचालन गरेर निर्माण सामग्री उपलब्ध आयोजनाका कामलाई निरन्तरता दिएका छन्’, उनले भने, ‘एक ठाउँका मजदुर अन्य ठाउँमा नलगीकन जहाँ छन्, त्यहीकै काममा लगाउन सहजीकरण गरेका हौँ ।’

सामाजिक दूरी कायम गर्न, स्यानिटाइजर, मास्कको व्यवस्था गरेर काम गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । एक्साभेटर प्रयोग गरेर सडकको ट्र्याक (मार्ग खोल्ने), नाली बनाउने, सुधार गर्ने, मोटर चल्ने पुल ढलान, नदी नियन्त्रणका लागि पर्खाल लगाउने, सिँचाइ, खानेपानी, विद्युतीकरण, भवन निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

दरवाङ र बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण योजना रोकिएको छैन । बर्खा शुरु हुनुभन्दाअघि नै नदी नियन्त्रण योजना नसकेमा बाढीले कटान गर्ने जोखिम भएकाले ती योजनालाई निरन्तरता दिइएको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उपभोक्ता समितिमार्फत सञ्चालित योजना धमाधम सञ्चालन भएका बताए । लकडाउनका कारण गाउँमा पर्याप्त जनशक्ति भएकाले विकास आयोजना कार्यान्वयनमा सहज भएको उनले बताए ।

बेनी नगरपालिका–१ आनन्दबगर नदी नियन्त्रण योजनाका सचिव सन्तोष बोगटीले बन्दाबन्दीकै बीच स्थानीय मजदुरहरुलाई परिचालन गरेर तटबन्ध गरिएको बताए । गण्डकी प्रदेश सरकारले पाँच लाख विनियोजन भएको उक्त योजनामार्फत ६३ थान ग्यावियन जाली पर्खाल लगाइएको छ ।

सो योजनाका मजदुर रामबहादुर दमाइले लकडाउनका कारण गाउँ बाहिर काम गर्न जान नपाएको अवस्थामा स्थानीय आयोजना चालू भएकाले राहत मिलेको बताए । थोरै मजदुरले सुरक्षित तरिकाले काम गरिएको उनले बताए।

यहाँको ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणलाई पनि निरन्तरता दिइएको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–रत्नेचौरलगायत सडक आयोजनाका मजदुर घर गएकाले ती आयोजनाको रोकिएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.