www.tandavnews.com
Fact ~ In search of truth

विपन्न र असहायलाई निःशुल्क खाना, अलपत्रलाई बास

पोखरा ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न गत चैत ११ देखि देशव्यापी आह्वान गरिएको बन्दाबन्दीले सबै क्षेत्र ठप्प छ । डेढ महिना लामो लकडाउनका कारणले प्रभावित हुनेहरु बढिरहेका छन् ।

जारी बन्दाबन्दीमा खाना खान नपाएका असहाय, सडक बालवालिका, दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बाध्यता भएका तथा विभिन्न कारणबाट अलपत्र परेका व्यक्तिलाई पोखराका दुई विद्यालयमा निःशुल्क खाना खाने व्यवस्था गरिएको छ । प्रभावितहरुका लागि पोखरा महानगरपालिका–९ नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालय र पोखरा–८ को राम आधारभूत विद्यालय परिसरमा दैनिक साँझ÷बिहान खाने पाक्ने गर्छ ।

Batas

नेपाल रेडक्रस सोसाइटी उपशाखा–९ को व्यवस्थापनमा नवप्रभातमा उद्धार शिविर सञ्चालन गरेर वैशाख १ देखि विपन्नका लागि खानपिन तथा आवास व्यवस्था गरिएको हो । विद्यालय परिसरभित्रै वडाका केही स्वयंसेवीले निःशुल्करुपमा उपलब्ध गराउने खाद्य सामग्रीबाट प्रभावितलाई साँझ बिहानको खाना खुवाउने गरिएको हो ।

रेडक्रस पोखरा–९ उपशाखा सभापति राजेन्द्र पहारीसहित उमा ठकुरी, वडा सचिव लोकदर्शन कोइराला, दीपेन्द्र मर्सानी र रोशन मानन्धर प्रभावितका लागि खाने बस्ने प्रबन्ध गर्न दिनहुँ खटिएका छन् । स्थानीय आमा समूह, टोल विकास संस्था तथा मनकारीले आवश्यक सहयोग प्रदान गरिरहेका छन् ।

पोखरा महानगरपालिकाले लकडाउन शुरु भएपछि सडक बालबालिकालाई जम्मा गरेर बाल सुधार गृहमा लगे पनि उनीहरु त्यहाँबाट भागेर पुल, व्यापारिक भवनलगायतमा पुनः आश्रय लिन थालेपछि उनीहरुलाई ल्याएर विद्यालयमा बस्ने र खाने सुविधा मिलाइएको उपशाखा सभापति राजेन्द्र पहारीले बताए ।

विद्यालय परिसरमा रेडक्रस सोसाइटी कास्की शाखाले उपलब्ध गराएको दुईवटा टेन्ट र विद्यालयको कोठामा बासको व्यवस्था छ । पाँचजना सडक बालक त्यही बसोबास गरे पनि अन्य खाना खानका लागि मात्र आउने गरेको बताइन्छ ।

‘मजदुर र सडक बालक जसको घर बस्ने खाने ठेगान छैन उनीहरुलाई यहाँ ल्याएर राख्ने र काम गर्न चाहनेलाई कामको समेत व्यवस्था गरिएको छ । स्वयंसेवीरुपमा बेसहारा र उपाय नभएकालाई सहारा दिएका छौँ’, पहारीले भने।

अलपत्रलाई आश्रय दिने, खानाको व्यवस्था गर्ने र गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने गरी आफूहरुले उद्धार शिविर सञ्चालन गरेको अर्का स्वयंसेवी ठकुरीले बताए । त्यसैगरी पोखरा महानगरपालिका वडा नं ८ ले पनि विपन्न र असहायका लागि वैशाख १७ देखि साँझ बिहान खाना खाने व्यवस्था गरेको छ ।

राम आधारभूत विद्यालयमा दैनिक ५० जना हाराहारीमा खाना खानका लागि आउने गरेको वडाध्यक्ष रुद्रनाथ बरालले बताए । जनप्रतिनिधि तथा वडाका केही संघसंस्थाको सहयोगमा आगामी वैशाख २५ गतेसम्म खाना खुवाउने योजना रहेको उनले जानकारी दिए ।

‘विषम् परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस् भनेर स्वयंसेवीरुपमा साँझ/बिहान खानाको व्यवस्था गरिएको हो, यहाँ आएपछि कोही पनि भोकै रहनु पर्दैन’, वडाध्यक्ष बरालले भने । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.