www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा उद्योग सञ्चालन गरेको भन्दै तनहुँका स्थानीय आन्दोलित

तनहुँ ।

बन्दाबन्दीका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् । बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेको भन्दै स्थानीयवासीले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् ।

रातिको समयमा सवारी साधनबाट कच्चा पदार्थ ल्याउने क्रम नरोकिएपछि सुरक्षाका लागि उद्योग बन्द गर्नुपर्ने मागसहित रिले अनशन शुरु गरिएको स्थानीयवासी किसान गुरुङले जानकारी दिए । ‘कोरोना संक्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्’, उनले भने, ‘काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

Batas

उनका अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनसन साँझ ६ बजेसम्म जारी रहनेछ । ‘सामाजिक दूरी कायम गर्दै शुरु गरिएको रिले अनसनमा यहाँका सबै स्थानीयवासीले ऐक्यबद्धता जनाउनुभएको छ,’ उनले भने ।

उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सूर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ । जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताए । बन्दाबन्दी अवधिभर उद्योगको काम पनि बन्द हुनुपर्ने स्थानीयवासीको माग छ ।

उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ । ‘भित्रका कर्मचारीलाई बाहिर जान दिएका छैनौ, सुरक्षितरुपमा काम सञ्चालन गरिएको हो’, उनले भने ।

उद्योगको अनुगमन गर्न मंगलबार पुगेका नगरपालिकाका प्रमुख किसान गुरुङले कर्मचारीको सुरक्षालाई ख्याल गर्दै उद्योग सञ्चालन भएको पाइएको बताएका थिए । पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.