www.tandavnews.com
Fact ~ In search of truth

देवघाट क्षेत्रमा कोरोना संक्रमित शव व्यवस्थापन स्थल

चितवन ।

चितवनमा कोरोना संक्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जंगल क्षेत्रलाई संक्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जंगललाई संक्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । ‘जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याएर बोर्ड टाँसेका छौँ’, उनले भने ।

Batas

सो क्षेत्रमा अहिले पनि नेपाली सेनाले संक्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १२ संक्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ ।

देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा संक्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए। उनले शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरण गरिरहेको बताए ।

देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेले बताए ।‘अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ”, उनले भने, यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।’ उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।

संक्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ । यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.