www.tandavnews.com
Fact ~ In search of truth

जनताको दुःखमा सरकार छ – गृहमन्त्री थापा

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएको सासंद् पौडेलले जानकारी दिए । ‘जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ’, उनले भने ।

Lama collectio News Middle

गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले  दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए । उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।

ढोरपाटन नगरपालिकालगायत अन्य संघसंस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो । आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं.९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बेपत्ता भएकाको संख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop