www.tandavnews.com
Fact ~ In search of truth

पर्वत हुवासमा पर्ने सेतीखोलामा पक्की पुल निर्माण शुरु

पर्वत ।

दक्षिण पर्वतको पैंयु गाउँपालिका—४ हुवासमा पर्ने सेतीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण गर्न लागिएको पुलको काम यसै सातादेखि शुरु भएको हो । सो पुल निर्माणका लागि चार करोड १४ लाख ५५ हजार ३८४ रुपैयामा सम्झौता भएको छ ।

विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै कोभिड–१९ का कारण झण्डै पाँच महिनापछि शुरु भएको छ । पुल २०७८ मङ्सिर ४ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । पुलको लम्बाई ३५ मिटर रहने र भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले जानकारी दिएको छ । पुल निर्माणको जिम्मा जयनेपाल इश्वर श्री सिद्धवावा जेभीले लिएको छ ।

Batas

पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवासस्थित हातेमालो चोक जोड्नका लागि सडक खुलेको झण्डै डेढ दशक पुगे पनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौं साना ठूला सवारी साधनहरु खोलामा जोखिम मोल्दै वारपार गर्ने गरेका थिए । गाउँपालिकाकै छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होस्राङदी, भोक्सिङ, बालाकोटलगायतका क्षेत्र जोड्ने सो सडकमा पुल नहुँदा वर्षायाममा सवारी साधनहरु ठप्प हुने गरेका थिए ।

हिउँद्मा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए । पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । बाह्रैमास सवारी सञ्चालन गर्न सहज हुने अध्यक्ष तिवारीको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पुलको शिलान्यास गर्दै समयमै र तोकिएको गुणस्तर काम गरेर निर्माण गर्न आग्रह गरे। मुलुक अहिले विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेका बेला कोरोना भाइरसले तीनै तहका सरकारलाई धक्का पु¥याएको बताउँदै उनले अब कोभिडसँगसँगै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने धारणा राखे ।

यो सँगै पैंयु गाउँपालिकामा रहेका सेतीखोला, मर्दिखोला, सरौंखोलालगायतका स्थानमा पाँच वटा पुलहरु निर्माणको काम अघि बढिरहेको पनि उनले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.