www.tandavnews.com
Fact ~ In search of truth

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री

संजय रेग्मी,

पर्वत /ताण्डव न्यूज।

लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आर्थिक अवस्था विपन्न हुँदा हुँदै पनि अध्ययनमा जेहेन्दार रहेका ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको छ।

Batas

जिल्लाको कुस्मा नगरपालिका–११ पकुवा स्थित शिल्मीमा रहेको स्यानीपोखरी आधारभूत विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुमध्ये केहीलाई झोला, कापी, पेन्सिल लगायतका सामग्रीहरु हस्तान्त्रण गरेको लोक तथा दोओरी गीत प्रतिष्ठान पर्वतका सचिव सन्तोष सुवेदीले बताए।

पछिल्लो समयमा भौतिक तथा गुणस्तरीय शिक्षा प्रदानको लागि अब्बल कसरत गरिरहेको विद्यालयमा अध्ययनरत बालबिालिकाहरुको अध्ययनमा सघाउनको लागि लोकदोहोरी कलाकार सुमन के।सी।को पहलमा उक्त सामग्रीहरु विद्यार्थीहरुलाई बाँडिएको हो। सोही ठाउँमा जन्मिएका कलाकार के।सी।ले विद्यालयमा सघाउनको लागि अनुरोध गरेपछि हरी पौडेल र राज पौडेल सहितका दाताहरुलाई ती सामग्रीहरु सहयोग स्वरुप प्राप्त भएका थिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष शिवप्रसाद पौडेलले कुनै पनि संस्था सफल बन्नको लागि त्यसमा कुसल नेतृत्वमा आवश्यक रहेको बताउँदै राज्यको आसामा बस्नुको सट्टा स्थानीय व्यक्तिहरु नै अग्रसर हुनुपर्ने बताए।विद्यालय सञ्चालनका क्रममा बिभिन्न समस्या रहेको भए पनि बाल विकास केन्द्रमा अध्यापनरत शिक्षक र विद्यालय कर्मचारीको विषयमा सरकारले स्पष्ट खाका तयार पार्नुपर्ने उनको भनाई छ।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्वतका प्रमुख उद्धीमराज पौडेलले जिम्मेवार अभिभावक भएमा मात्र शिक्षामा गुणस्तर ल्याउन सकिने बताउँदै शिक्षामा प्रबिधिको अधिकतम प्रयोग हुनुपर्ने बताए। विद्यालयको भौतिक संरचनाले चेतनाको स्तर नबढाउने भएकोले गुणस्तर कायम गर्न सबैको पहल आवश्यक रहेको उनको भनाई छ।

कुस्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले सरकारले अहिलेसम्म पनि शिक्षा ऐन जारी गर्न नसक्नुले शिक्षाको बिषयमा राज्य गम्भीर नरहेको देखिएको बताए। देशको समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको भए पनि मुलुकमा शिक्षा क्षेत्र नै बेवास्तामा पर्दा शैक्षिक उपलब्धि कमजोर बनीरहेको उनको दावी छ।

कार्यक्रमका अध्यक्ष एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले केही समय पहिलेसम्म विद्यार्थीहरुलाई राजनीतिमा होमेर नारा लगाउन लगाउने प्रवृत्ति रहेकोमा अहिले त्यसमा क्रमिक सुधार हुँदै गएको बताए। शिक्षकहरुले नै राजनीति धानिदिने परीपाटीको अन्त्य हुँदै जानु पनि शिक्षाका लागि सुखद पक्ष रहेको उल्लेख गरे।

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी, नेपाली काँग्रेसका प्रतिनिधि दया सुवेदी, पूर्व गाविस कार्यबहाक अध्यक्ष खुमप्रसाद सुवेदी, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष आर.सी. पौडेल (रामचन्द्र), प्रतिष्ठान धौलागिरीका पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण अखेली, कार्यक्रमका संयोजक एवं लोकदोहोरी कलाकार सुमन के.सी.ले पनि मन्तव्य राखेका थिए।

धेरैको संख्याका शिक्षकहरुले पढाएको शिक्षा भन्दा घरमा एउटी आमाले दिएको शिक्षाको प्रभावकारीता बढी हुने उनीहरुको भनाई थियो। शिक्षाको जग बलियो पार्नको लागि शिक्षकमा मात्रै भर नपरेर घरमा पनि त्यस्तै खालको वातावरण निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिए।

विद्यालयका प्रधानाध्यापक रामबहादुर के.सी. ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका सचिव सन्तोष सुवेदीले गरेको विद्यालयका सूचना अधिकारी तथा सहायक प्राधानाध्यापक खिमलाल सुवेदीले जानकारी दिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.