www.tandavnews.com
Fact ~ In search of truth

नाम्लो, पातो र बरियो सहित भरिया मजदुर प्रमुख अतिथिको रुपमा उद्घाटन गर्न पुग्दा …

काठमाडौं ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आफ्नो नयाँ केन्द्रीय कार्यालयको उद्घाटन समारोह अनामनगरमा शुरु हुन लागेको थियो । महाकाव्यकार, अधिवक्ता, अंग्रेजी अनुवादक तथा अभियानका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईको ६ तले घरको दोस्रो तल्लामा अभियानको ठूलो बोर्ड टाँगिदै थियो । सडकमा यात्रा तय गरिरहेका मान्छेहरु हेरिरहेका थिए । प्राध्यापक, अध्यापक, अधिवक्ताहरु, पूर्व सुरक्षा अधिकृतहरु, पूर्व नेता मन्त्री भइसकेका व्यक्तिहरु प्रमुख अतिथि को होला भनेर सोचिरहेका देखिन्थे ।

ती मध्ये पूर्व प्रमुख जिल्ला अधिकारी के पी अधिकारी, पूर्व सहसचिव बाबुराम पौडेलले र अब कार्यक्रम शुरु हुन लाग्यो भित्र जऔं भन्दा खोइ त प्रमुख अतिथि भनेर सोद्धै प्रमुख अतिथि नआउन्जेल घाम तापौं न भनेर बाहिरै बस्न खोजिरहेका थिए । आयोजकहरुले प्रमुख अतिथी आइसक्नु भयो भन्दै गर्दा सबै जना नचिनेर यताउता आँखा डुलाइरहेका थिए । केही परबाट संगठन विभाग प्रमुख सन्तोष अधिकारी र सदस्य नकुल तिमल्सिनाले प्रमुख अतिथिलाई लिएर आउँदै थिए ।

Batas

प्रमुख अतिथिको हातमा नाम्लो, पातो र बरियो थियो । उनी थिए सिन्धुपाल्चोक कोशी पारिका भरिया मजदुर लोकेन्द्र बहादुर गौतम । हाल काठमाडौं डिल्लीबजार इलाकामा भरिया मजदुरी गर्दै आएका गौतम काममा छँदाछँदै आयोजकहरुले प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्रका विचारहरु सुनाई संसदीय व्यवस्था अन्त्य गर्ने उद्देश्य प्रष्ट पारेर यदि पटक पटक विकास बजेट खर्च गरेर नेताका लागि चुनाव मात्र गराउने विकृत व्यवस्थाको विरुद्ध सहमत हुनुहुन्छ भने कार्यालय उद्घाटन गरिदिनु पर्यो भन्ने अनुरोध स्वीकार गरेर कार्यक्रम उद्घाट आफूले गरेको बताए ।

अनामनगर घट्टेकुलो स्थित केन्द्रीय कार्यालयको भवन अभियानकै केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईंले निःशुल्क उपलब्ध गराएका हुन् ।

गौतम कार्यक्रम उद्घाटन गर्न आफ्नो कार्यस्थलबाट नाम्लो र अन्य सामग्री सहित नै उपस्थित भएका थिए । कार्यक्रम उद्घाटन गरिसकेर उनी तत्कालै आफ्नो काममा फर्किएका थिए । त्यो दृश्य देख्दा अन्य कार्यक्रमका प्रमुख अतिथिहरु विभिन्न कार्यक्रम उद्घाटन गरिसकेर हतार छ भन्दै निस्किएर के चाहिँ काम गर्छन् होला जस्तो लाग्दथ्यो ।

हरेक कार्यक्रमहरु फरक शैलीबाट गर्दै आएको स्वतन्त्र अभियानका केन्द्रीय संयोजक स्वागत नेपाल, सचिवालय सदस्य महाकाव्यकार, अनुशासन समिति सदस्य पूर्व प्रमुख जिल्ला अधिकारी के पी अधिकारी, शिक्षा विभाग प्रमुख खगेन्द्र प्रसाद चौंलागाई, पूर्व सहसचिव बाबुराम पौडेल समेतले स्वतन्त्र राष्ट्रिय अभियान नेपालले उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र, दुई दलीय प्रणाली विशेषता सहित राइट टु रिजेक्ट र राइट टु रिकल लागू गराउन गरेको संघर्ष र आगामी कार्यक्रम बारे चर्चा गरेका थिए ।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान मात्र नेपालमा मात्र नभएर विश्वमै एक मात्र कुनै पनि तहको समितिमा रहन पहिला नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने राजनीतिक वैचारिक संगठन रहेकोले नेतृत्व गर्नका लागि आफूहरुको हकमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान लागू नहुने भन्दै हालसम्मको कार्य प्रगतिको बारेमा जानकारी दिइएको थियो ।
अभियानको कार्यालय यसपूर्व बागबजारमा रहेको थियो ।

अभियानको नयाँ केन्द्रीय कार्यालयको उद्घाटन प्रमुख अतिथि गौतमले दियोमा बाती बालेर गर्नु भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.