www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा पृथ्वीजयन्ती तीन दिन मनाइने, पुस २७ मा सार्वजनिक बिदा

गोरखा ।

गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उनको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।

Batas

‘नेपाल चेम्बर अफ कर्मससँगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि गरिनेछ’, उनले भने, ‘पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्य शाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।’

त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा संग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए । दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उनको भनाइ छ ।

नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.