www.tandavnews.com
Fact ~ In search of truth

सातै प्रदेशमा आज कोरोना विरुद्धको खोप पुर्याइदैँ , गण्डकीमा मात्र कति आउँदैछ खोप ?

पोखरा,
ताण्डव न्यूज ।

सरकारले अनुदान स्वरुप पाएको कोरोना विरुद्धको खोप आजदेखि सात वटै प्रदेशमा पठाउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सात वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने र आजसम्म सबै प्रदेशमा खोप पुग्नेछ ।

Batas

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय विभिन्न अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ ।

यसैबीच गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट पठाईएको ‘रेफ्रिजेरेटर भ्यान’ आज पोखरा आउँदैछ । गण्डकी प्रदेशका फ्रन्टलाइनरलाई लगाउने खोप लिएर भ्यान आज आइतबार साँझसम्म पोखरा आइपुग्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार प्रदेशका लागि कति खोप पठाईन्छ भन्ने अझै यकीन भइसकेको छैन । गण्डकी प्रदेशले ४० देखि ४५ हजार डोज खोप पाउने अनौपचारिक जानकारी आएको प्रदेशका अर्का उच्च स्वास्थ्य अधिकारीले बताए ।

‘कति खोप पठाउँछन् भन्ने आएपछि थाहा होला तर गण्डकीलाई ४० हजार डोज दिने भन्ने सुनेको छु,’ ती अधिकारीले भने, ‘त्यति आए स्वास्थ्यकर्मीसहित २० हजार फ्रन्टलाइनरलाई पुग्छ ।’ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले खोप राख्ने ठाउँ व्यवस्थापन भइसकेको जानकारी दिए । उनका अनुसार कोरोना भाइरसविरुद्धको उक्त खोप जिल्ला स्वास्थ्य कार्यालय कास्की हाताभित्रको खोप भण्डार गृहमा राखिनेछ ।

केन्द्रले खोपसहित व्यवस्थापन र प्रदेशमा सहजीकरण गर्न प्रतिनिधि पनि पठाउने भएको छ । गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकेको छ । उनीसँगै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठ पनि आउनेछन् । पोखरास्थित खोप भण्डारमा ल्याएपछि ४ दिनभित्र जिल्लामा पठाइनेछ । कति जनालाई खोप लगाउने भन्ने अझै जानकारी आइनसकेको स्वास्थ्य महाशाखा प्रमुख ज्ञवालीले बताए ।

‘केन्द्रले जिल्लाबाटै विवरण मागेकाले उनीहरु आफैँले पठाएका छन् । खोप आएपछि पोखरामा तालिम हुन्छ । त्यसपछि कतिलाई लगाउने भन्ने थाहा हुन्छ,’ उनले भने । उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

२ मात्रामा दिइने खोप पहिलोपटक लगाएको ४ हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन सुरु गरेको १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । माइनस २ डिग्री सेल्सियसदेखि माइनस ८ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । भारत सरकारले माघ ८ गते नेपाललाई अनुदानमा १० लाख कोभिशिल्ड खोप उपलब्ध गराएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.