www.tandavnews.com
Fact ~ In search of truth

४२ वर्षपछि फेवातालको बाँध मर्मत हुदैँ

फेवाताल पहिलेकै अवस्थामा फर्किन डेढ महिना लाग्ने

पोखरा
ताण्डव न्यूज ।

हिजो (शनिबार) फेवातालको पानी अचानक घटेपछि पोखरेली अचम्ममा परे । फेवातालको पानी आफै भने घटेको होइन । घटाइएको हो । जीर्ण बनेको फेवातालको बाँध मर्मत गर्नका लागी फेवातालको पानी घटाइएको हो ।

तालको पानी घटाएर हिजो देखि फेवातालको बाँधको मर्मतकार्य शुरु भएको छ । चारदशक पहिले निर्माण गरिएको ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्न थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत सुचारु गरिएको हो ।

Batas

ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको हो । विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो ।

लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माणको लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बताए ।

आचार्यले भने, ‘२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला संघले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।’

उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ ।

गएरातिदेखि तालमा पानीको सतह घटाउन सुरु गरिएको छ । ड्याम मर्मतको कार्य एक महिना भित्र सक्ने गरी काम सुरु गरिएको भएपनि ताल पहिलेकै अवस्थामा फर्कन भने डेढ महिना लाग्ने बताइएको छ ।

तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिने आचार्यले बताए । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।

पानी घटेपछि मरे माछा

बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताए।

उनले भने,‘हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पा¥यो ।’ उनका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.