पोखरा,
ताण्डव न्यूज ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताएका छन् । उनले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताए । कर छल्न खोज्नेहरुप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने पनि प्रष्ट पारे ।
पोखरा उद्योग वाणिज्य संघको ६७ औँ वार्षिकोत्सवको सन्दर्भमा सोमबार संघ तथा आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको ‘आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट-सुविधालगायत करसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले कारोबार बढ्दा खर्च पनि बढ्ने भएकोले ठूलो कारोबार हुँदैमा बढी कर तिर्नुपर्छ भन्ने मान्यता राख्न नहुने बताए ।

आफ्नो आय–व्ययको विवरण चुस्त–दुरुस्त राख्नसके दण्ड र जरिवानाबाट बच्न सकिने र राज्यले दिएका सुविधाहरु उपभोग गर्न करदाता स्वयं सचेत बन्नुपर्नेमा उनको जोड थियो ।कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कर शिक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै व्यवसायीहरु भनेका कर लुकाउने वर्ग हो भन्ने मानशिकताबाट कर प्रशासन मुक्त हुनुपर्ने धारणा राखे । उनल कर तिर्ने निजी क्षेत्रलाई राज्यबाट उचित सम्मान र सुरक्षा दिनुपर्ने माग पनि गरे ।
व्यवसायीहरुले अञ्जानमा गरेको गल्तीमा पनि ठूलो सजायँ दिने प्रवृत्ति बेठीक भएको उनको भनाई थियो । कार्यक्रममा आर्थिक ऐन २०७७ ले दिएका सुविधाबारे कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत मदनबहादुर केसीले आर्थिक ऐनले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को आयव्यय विवरण मात्रै बुझाए पनि त्यसअघिका कर र जरिवानाबाट मुक्त हुन सकिने जानकारी दिए ।
स्थायी लेखा नम्बर लिएर वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिको हकमा पनि फागुन मसान्तसम्म अघिल्ला २ आर्थिक वर्षमा लाग्ने आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाए त्यसअघिका कारोबारको शुल्क मिनाहा हुने उनले जानकारी दिए ।
आर्थिक ऐनले कोभिड–१९ बाट प्रभावित कारोबारलाई आर्थिक वर्ष २०७६-०७७ मा लाग्ने करमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको, नेपाल सरकारले बनाएको कोरोना कोषमा योगदान गरिएको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टीको व्यवस्था मिलाइएको पनि उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव सुरेन्द्रमान बिजुक्छेको संचालन रहेको अन्तरक्रियामा बोल्ने व्यवसायीहरुले कर प्रशासन व्यवसायी मैत्री हुनुपर्ने, कर शिक्षालाई अझ व्यापक बनाउनुपर्ने धारणा राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६७ औं वार्षिकोत्सवको सन्दर्भमा यो साता विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । २०११ साल माघ २५ गते पोखराकै जेठो सामाजिक संस्थाको रुपमा संघको स्थापना भएको हो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.