www.tandavnews.com
Fact ~ In search of truth

‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’: सहयोग गर्दै नाम लेखाउन थाले सहयोगीदाता

भरतपुर ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।

यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रंगशालालाई एक लाख सहयोग गरेको छ । ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौँले एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल रङ्गशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई एक लाखको चेक हस्तान्तरण गरे ।

Batas

सो क्रममा प्रबन्ध निर्देशक बस्यालले ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्दर्भिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रङ्गशालासँग जोडिएको बताए । उनले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीमा आग्रह गरे । उनले आगामी दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

प्रबन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गरेका छन । फाउण्डेशनले काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् । फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याइएको बताए ।

उनले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणाको रुपमा लिन आग्रह गरे । ‘यो कुर्ची खरिद, बिक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावको पनि हामीले रङ्गशालामा नाम उल्लेख गर्छौं’, अध्यक्ष धुर्मुसले भने । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.