www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीः घोडेपानीमा गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । ुगुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छु, उनले भने,‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो । गुराँसको फूल नपाक्दै टिपिदिँदा त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए ।

Batas

घोडेपानीको जंगलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आँकलन गरिएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए ।

बेनी, बाग्लुङ, पोखरा, चितवन, काठमाण्डौलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जो, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.