www.tandavnews.com
Fact ~ In search of truth

फेरि देशभर वायु प्रदूषण उच्चःघरबाहिर ननिस्कन स्वास्थ्य विज्ञको आग्रह

काठमाडौं।

देशभरि वायू प्रदूषणको मात्राले खतराको संकेत पार गरेको छ ।

काठमाडौं सहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

Batas

वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे एन–९५ मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

उनले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गरे ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर धिमालले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरे।

यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।

गर्मी बढेसँगै डढेलोका कारण सोमवार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

यसैबीच वायु प्रदूषणका कारण आज पोखराका हवाई उडान रोकिए । प्रदुषणका कारण भिजिविलिटी कम हुदाँ पोखरा विमानस्थलबाट हुने सबै हवाई सेवा पुनः प्रभावित भएका हुन् । झन्डै एकसाता अवरुद्ध रहेको उडान गत विहीबारदेखि सुचारु भएपनि सोमबारदेखि पुन प्रभावित भएका हुन् ।

पोखरा विमानस्थलको अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा उडान भएपनि नौ बजेपछि काठमाडौंका लागि हुने सबै उडान भने अवरुद्ध भएका हुन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.