www.tandavnews.com
Fact ~ In search of truth

राजधानीमा संक्रमणदर ७० बाट घटेर ६५ प्रतिशतमा झर्‍यो

काठमाडौं ।

काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को संक्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा संक्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत संक्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।

अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना संक्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब संकलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ ।

Batas

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ’, उनले भने ।

परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।

कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् ।

महानगरमा हाल रहेका संक्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.