www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मन्त्रीहरु भन्छन् : ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं’

पोखरा ।

गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् ।

उनीहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरे ।नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिएका छन् । गण्डकीमा आमसंचार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव अनुसार अघि बढ्ने उनीहरुको प्रतिबद्धता छ ।

पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताए । संचारजगतकै कारण देशमा ठूला ठूला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा भएमात्र देशमा लोकतन्त्रको रक्षा हुने बताए ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि संविधानको रक्षाका लागि काँग्रेस सरकारमा आएको प्रष्ट पारे । उनले भने, दुईतिहाइको सरकारले संविधानमाथि हमला गर्यो, त्यसको रक्षाका लागि गठबन्धन बनाएर सरकार चलाएका हौं । मन्त्री श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता कोरोनाविरुद्धको खोप भएकोले तिनै तहको सरकार मिलेर खोप उपलब्ध गराउने बताए ।

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा संचारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताए । उनले कोरोनाबाट सबै क्षेत्र तहसनहस भएको बताउँदै संचारक्षेत्र झन् जोखिम र सक्रियरुपमा खटिने क्षेत्र भएको बताए । उनले संचारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाए । मन्त्रालयमा ८८ करोड रुपैयाँ बजेट रहेकोमा सञ्चार क्षेत्रका लागि २ करोड बजेट रहेकोे जानकारी समेत उनले दिए ।

यसैबीच, युनियनले नेपाली काँग्रेसबाट नियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । उनीहरुलाई बधाई ज्ञापनपत्र साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा पे्रस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले जनताको हितलाई ध्यानमा राखेर सामाजिक संजालमा टीकाटिप्पणी नहुने गरी काम गर्न मन्त्रीहरुलाई सुझाव दिए ।

युनियन कास्कीका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सचिव केवी राना, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जारा, युनियनका सल्लाहकार रवीन्द्र बास्तोला, गंगाधर पराजुली, शिरोमणि बराल, युनियन जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले बोलेका थिए ।

युनियन कास्कीले यसअघि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्कालाई बधाई तथा सम्मान गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.