www.tandavnews.com
Fact ~ In search of truth

भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनःनिर्माण

बागलुङ ।

गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ । झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले काम अघि बढाइएको स्थानीय पीडित लालमाया घर्तीले बताए । सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम पर्खिएकामा नगरपालिकाले विलम्ब भएको भन्दै दामासाहीले पीडितहरुलाई अनुदान उपलब्ध गराएर घर निर्माण गर्न लगाएको हो ।

Batas

बाढी–पहिरापछि दाताहरुबाट संकलित झण्डै दुई करोड ४६ लाख सहयोग र नगरको बजेट समेतबाट ९७ पीडित परिवारका घर निर्माणको काम थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।बाढी र पहिराका कारण विस्थापित १३० परिवार घर पूर्ण क्षति भएकामा ९० घरपरिवारले धमाधम घर बनाइरहेका छन् । आंशिक क्षति भएर पनि बस्न नमिल्ने अवस्थामा रहेका सात घर पनि प्राप्त भएको रकमले बन्दैछ ।

‘प्रत्येक घरका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएका छौँ, सोही रकमबाट उहाँहरु घर बनाउँदै हुनुहुन्छ’, उनले भने, ‘सरकारले दिने भनेको अनुदानमा प्रक्रिया पु¥याउनै कठिन भएकाले तत्कालको समस्या टार्नेतर्फ लाग्यौँ ।’

‘एकपटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यतिले घर बन्दैन, नाक र कानमा लगाएको सुन बेचेरै भए पनि घर बनाउँदैछु’, वडा नं.९ बोबाङकी पीडित लालमाया घर्तीले भने, ‘उता बाढी यता पहिराको डर, छिमेकीको जग्गामा घर बनाउन लागेकी छु, त्यो पनि उधारोमा जग्गा लिएर ।’

सरकारले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रमा बाढी–पहिराका कारण पूर्ण क्षति भएका घरका लागि चार लाख अनुदान दिने नीति बनाएकोे थियो, जस्मा मनसुनजन्य विपत् प्रभावित पुनर्निर्माण पुनस्र्थापना कार्यक्रमअन्तर्गत संघीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागिमा मात्रै अनुदान दिने व्यवस्था छ । सो नीतिअनुसार स्थानीय तहले प्रक्रिया पु¥याउन नसक्दा अनुदान उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘असारको अन्तिममा बजेट आयो, फ्रिज नहुने बजेट हो’, उक्त कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, ‘प्राविधिकले अध्ययन गरेर सूची तयार पार्ने र एप्लिकेशनमा प्रविष्ट गर्ने काम गर्नुभएको छ, सोहीअनुसार अनुदानको कार्यक्रम अघि बढ्छ’ ।

बडिगाड गाउँपालिकाका ३१ लाभग्राहीको भुक्तानी प्रक्रिया सुरु भएको छ । दुई पालिकाबाहेकका पालिकाका पीडितहरुको फाइल तयार गर्न स्थानीय तहले ढिलाइ गरेका कारण अनुदान रोकिएको उनले बताए ।

नगरपालिकाले पनि अनुदानका लागि एप्समार्फत भर्नुपर्ने विवरण भरेर फाइल तयार गरेको छैन । गत वर्ष भदौ १७ गते भुजीखोलामा आएको बाढी–पहिराबाट २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.