www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा आजदेखि भदौ ५ गतेसम्म कडा निषेधाज्ञा

बागलुङ ।

कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो ।

यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबै खाले सार्वजनिक÷निजी यातायात बन्द भएका छन् ।

Batas

बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी÷गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् ।

यस्तै तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।

काम नपरी घरबाहिर ननिस्कन र भीडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ ।

कोभिड–१९ विरुद्धको खोप अभियानले भने निषेधाज्ञामा पनि निरन्तरता पाउने केन्द्रले जनाएको छ । एम्बुलेन्स, दमकल, शववहानलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन ।

यस्तै सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतबार, बुधबार र शुक्रबार सवारी साधन चलाउने दिइने भएको छ । बागलुङ भएर अन्य निषेधाज्ञा नभएका जिल्लामा जाने सवारी साधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्नसमेत नपाउने भएका छन् ।

दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि बागलुङमा निषेधाज्ञा जारी छ । बीचमा संक्रमणदर केही घटेपछि खुकुलो पारिएको निषेधाज्ञा पुनः संक्रमण बढेसँगै कडा पारिएको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६४८ छ । कोरोनाका संक्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.