www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा जनशक्तिको अभाव झेल्दै प्रहरी

बागलुङ ।
बागलुङ जिल्लाको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतिबेला कोरोना नियन्त्रणका लागि खटिएको छ ।

सम्भावित बिरामीको पिसिआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ । गाउँदेखि शहरमा पिसिआरको आवश्यकता स्वास्थ्यकर्मीले औँल्याउँदा अटेरी गर्नेलाई प्रहरी पुगेर स्वाब सङ्कलन गर्ने केन्द्रसम्म पु¥याउनुपर्छ ।

होम आइसोलेशनमा बसेका संक्रमित खुलेयाम सडकमा हिँड्दा प्रहरीले नै अस्पताल पु¥याउँछ । नियमित शान्तिसुरक्षा, ट्राफिक, अपराध नियन्त्रण र अनुसन्धानका काम पनि रोकिएका छैनन् । बिरामीको जाँच, खोजपड्लात र उपचारको काम स्वास्थ्यकर्मीको हो तर कोरोना नियन्त्रणका लागि प्रहरीको भूमिका पनि उत्तिकै छ ।

Batas

शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको काममा मौजुदा जनशक्तिको अधिकतम प्रयोग गरेको प्रहरीले महामारी नियन्त्रणका समयमा भने जनशक्तिको अभाव महसुस गरेको छ । दरबन्दीअनुसारको जनशक्ति पदपूर्ति नहुँदा प्रहरीलाई कठिन भएको हो ।

‘जिल्लामै प्रहरीको सङ्ख्या कम छ, चौकी, इलाका र पोष्टमा चाहिनेजति खटाउन सकिएको छैन्’, प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगर भन्छन्, ‘दरबन्दी खाली छन्, जनघनत्व भएका ठाउँमा जनशक्तिले पुग्दैन् ।’ ५८७ जनाको दरबन्दी रहेको बागलुङमा ३१४ जना मात्रै छन् । प्रहरी उपरीक्षक, प्रहरी अधिकृतदेखि जवानसम्मका अधिकांश पद खाली छन् । २६ प्रहरी नायब निरीक्षकको दरबन्दी रहेको जिल्लामा ११ मात्रै छन् । ६२ प्रहरी सहायक निरीक्षकको दरबन्दीमा ३२ ले काम चालउनुपरेको उनले जानकारी दिए ।

उनले भने, ‘प्रहरी अधिकृत हुनुहुन्छ समस्या छैन, जसलाई धेरै खटाउनुपर्ने हो उहाँहरुकै दरबन्दी खाली छ ।’ जिल्लामा रहेको मौजुदा जनशक्ति अवकाश पाउँदा १०१ को दरबन्दी नै खाली छ । सरुवा भएर आउने पनि काजमा बस्दा जनशक्तिको कमी भएको कार्यालयको तथ्यांक छ ।

यहाँको दरबन्दीमा कामकाज गर्न अन्तै बस्नेमध्ये धेरै जना पोखरामा छन् । मन्त्रालय, मन्त्री निवास, भिआइपीको सुरक्षा र सरकारी विभिन्न निकायमा काजमा बस्ने धेरै रहेको प्रउपल्लीमगरले बताए। ‘पोष्टिङ यहाँ हुन्छ तर काज मिलाएर सुगममा बस्ने धेरै हुँदा समस्या भयो’, उनले भने,‘दरबन्दीमा नयाँ नियुक्ति नहुँदा काममा सास्ती खेप्नुपरेको छ ।’ २९ को दरबन्दी हुने इलाका प्रहरी कार्यालय बलेवा आठ का भरमा चलेको छ । यो एउटा उदाहरण मात्रै हो । बागलुङमा ‘क’ वर्गका इलाका प्रहरी ३, ‘ख’ वर्गका इलाका प्रहरी कार्यालय चार र १४ वटा प्रहरी चौकी छन् । तीन वटा प्रहरी चौकी खुल्न बाँकी छन् । सबै इलाका तथा चौकीमा जनशक्तिको अभाव छ ।

‘हरेक ठाउँमा प्रहरी चाहिन्छ, काममा खप्टाएर काम गर्नुपरेको छ’, उनी भन्छन, ‘हाम्रो सुविधा भनेकै बिदा हो, भनेका बेला बिदा पठाउन नपाउँदा नमज्जा लाग्छ ।’ जिल्लाका लागि पोष्टिङ भएर आउने जनशक्ति समयमा पठाउनुपर्ने उनको भनाइ छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.