www.tandavnews.com
Fact ~ In search of truth

त्रिवर्षीय योजना उपर पोखरा महानगरको योजनाविद्सँग विषयगत छलफल

पोखरा महानगरपालिका सहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजना माथि मंगलबार छलफल गरेको छ । आयोगले सरोकारवाला क्षेत्रका योजनाविद्को उपस्थितिमा त्यस उपर विषयगत छलफल गरेको हो ।

महानगरपालिकाको द्रूत र दिगो विकासका लागि आर्थिक सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधार जस्ता विषय समेटेर त्रिवर्षीय योजना (२०७८/०७९/०८०/०८१) तयार गरिएको महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार योजनाले समाजवाद उन्मुख समाज निर्माणका लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल तयार गरेको छ ।

नेपालको संविधान २०७२, दिगो विकास लक्ष्य २०३० लाई पोखरा महानगरपालिकाको सन्दर्भमा स्थानीयकरण, संघीय सरकारको भिजन २१००, १५ औं पञ्च वर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्च वर्षीय योजनालाई आधार मानेर महानगरले ३ वर्षीय योजना तयार गरेको उनको भनाइ छ ।

Batas

महानगरका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले, ‘सुखी नेपाली, समृद्ध नेपाल’ मा आधारित रहेर पोखरा महानगरको त्रिवर्षीय योजना तयार गरेको र यसले आगामी विकासका कार्यक्रमलाई सहयोग पुग्ने लक्ष्य लिएको बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले महानगर नगरबासीको आशा र भरोसा अनि विकासको केन्द्रबिन्दु भएको जनाउँदै योजनाको प्राथमिकरणमा विशेष ध्यान दिएर बलियो दस्तावेज बनाउन कार्यशाला गोष्ठी महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार राष्ट्रिय योजना आयोगले तयार गरेको मार्गनिर्देशन अनुसार ३५ वटा योजनाका विषय र त्यसका विषयगत क्षेत्रलाई समेटेर तयार गरिएको छ । गोष्ठीमा पर्यटन अध्येता श्रीकान्त खतिवडा, सुदृढ नेपाल परियोजनाका सहजकर्ता दामोदर गिरी, परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीलगायतले सम्बन्धित विषयवस्तु माथि प्रस्तुतिकरण गरेको थियो ।

कार्यक्रममा महानगरका सम्बन्धित विषय महाशाखा प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र विज्ञ टोलीबिच विषयगत रुपमा छलफल गरी सुझाव संकलन गरिएको थियो । आयोगले तयार गरेको योजनालाई अन्तिम स्वरुप प्रदान गर्न उपमेयरको संयोजकत्वममा गठित योजना सहजीकरण समितिले अध्ययन गरी सुझावसमेत पेस गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.