www.tandavnews.com
Fact ~ In search of truth

‘नेपालको नागरिक नभई मरिन्छ कि ?’

हरि बास्तोला

पोखरा वृद्धाश्रममा आश्रित ६ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म रहेपनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित छन् । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । अहिले उनीहरु नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि बञ्चित हुनुपरेको दुखेसो गर्छन् ।

वृद्धाश्रमकै सहारामा बाँच्नु परेपनि कमसेकम नागरिकता लिएर आफूहरु नेपाली भएर बाँच्न पाउने आशामा रहँदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउँछिन् । पोखराको नयाँबजार घर भएकी उनको आफ्नै पीडा व्यथा छन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने उनी झण्डै १ दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आएकी छिन् ।

Batas

आफन्तले साहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उनलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । उनी भन्छिन्, ‘आफु नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ ।’
फुलमाया जस्तै लमजुङको राइनास मोहोरीयाकोट जन्मस्थान भई घर परिवारको मायाबाट बञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत ८ वर्षयता सो वृद्धाश्रममा बस्दै आभएका छन् । ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, १ छोरा र २ छोरीका यी अभिभावक यतिखेर आफन्तविहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन् ।

आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मरण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको साहारा खोज्नु परेको दुखेसो पोख्छन् । पाको उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोचनै बनेन । अहिले परिवारबाट हेलत्व भएको अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसुसु भएको उन बताउँछन् ।

त्यस्तै वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको अहिलेसम्म नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् ।

सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्केका अधिकांशको नजिकैका नातेदार तथा पैतृक सम्पत्तिका नाममा अत्तोपत्तो नभएकाहरु अस्पताल, प्रहरी र समाजका विभिन्न संघसंस्थाको माध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्यांकमा उल्लेख छ ।

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी ६ जनाको पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ ।

‘समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कुल ५२ को परिवार रहेको छ’, उनले भने । ‘३ नै तहका सरकार, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरुपमा सम्पन्न भएपनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ’, पराजुली भन्छन् ।

आश्रममा अट्याज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधीउपचारलगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, ‘विशेष गरी जन्मोत्सव, विवाहको वार्षिकोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ ।’

यसैबीच पोखरा महानगरपालिका– ९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आफ्नो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा रु ६ लाख ५१ हजार ५ को अक्षयकोष स्थापना गरेका थिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.