www.tandavnews.com
Fact ~ In search of truth

नेशनल फुटसल लिगः स्पोर्टस् क्यासललाई अंशुभराको साथ

असाेज २ गते देखि २२ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने

ताण्डव न्युज

नेशनल फुटसल लिग (असोज २ देखि २२ गतेसम्म) खेल्न पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा ग्रुपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा ग्रुपले फुटसल लिगसँगै १ वर्षका लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोगसहित सम्झौता गरेको हो ।

Batas

पोखरामा आज आयोजित एक कार्यक्रमकाबिच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा ग्रुपको तर्फबाट प्रबन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खेलका लागि जर्सीसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै निर्देशक थापाले आफ्नो ग्रुपको मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसीसमझदारी गरेको बताउँदै १ वर्ष अफिसियल्ली साथ दिने बताए । थापाका अनुसार ग्रुपले क्यासललाई आगामी भदौको २६ गतेसम्म साथ दिनेछ ।

त्यसैगरी क्यासलका सञ्चालक गुरुङले हस्ताक्षरपश्चात् बोल्दै अंशुभराको साथ प्रति आभार प्रकट गरे । उनले आफ्नो टोलीले विगत २ महिनादेखि प्रशिक्षण गर्दै आएको बताउँदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे । यसैगरी हस्ताक्षर कार्यक्रममा बोल्दै युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिंगो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनीतिक हस्तक्षेप नहुनेसमेत धारणा राखेका थिए ।

खेलाडीको अन्तिम छनौट सोमबार
विगत २ महिनादेखि बन्द प्रशिक्षणमा २४ जना खेलाडी छन् । सोमबार कुल १७ जनाको अन्तिम नाम सार्वजनिक गर्ने टिम व्यवस्थापक ओम गुरुङले बताए । उनका अनुसार क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङलगायतले प्रशिक्षण गरिरहेका छन् । उनीहरुलाई विष्णु गुरुङ र अर्विन गुरुङले प्रशिक्षण दिइरहेको व्यवस्थापक गुरुङले बताए ।

आगामी असाेज २ गते देखि २२ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने ए डिभिजन फुटसल लिगमा देशभरबाट कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ बाट फुटसल फाईभ धरान, दि राइजिङ क्लब धरान, बाग्मती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब र स्काई गोल्स फुटसल क्लबको सहभागिता रहनेछ । यसैगरी गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल र सविन मेमोरियल, लुम्बिनी प्रदेश र सुदूरपश्चिमबाट २ टिमले प्रतिस्पर्धा गर्नेछ ।

स्पोर्टस् क्यासलले असोज २ गते साढे ४ बजे पहिलो खेल प्रभातफेरी युवा क्लबसँग खेल्ने छ । उक्त लिग विजेताले नगद रु १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख राखिएको छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.