www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय बाढीपहिरोले तहसनहस भएपछि बालबालिकालाई टेण्टमै पठनपाठन

नवीन लामिछाने मनाङ

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिरोले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा पर्यो ।

गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जंगलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केहीमात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा गाउँवासी बस्ने अवस्थामा छैनन् । झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नै छैन । भविष्यका कर्णधारका रूपमा विकास भइरहेका बालबालिकाको भविष्य बनाउने जिम्मेवारी विशेषगरी जनप्रतिनिधिलाई दिइएको छ । जनप्रतिनिधिको सक्रियतामा बाढीपीडित बालबालिका पठनपाठनको व्यवस्था गरिएको छ । बालबालिकाको भविष्य बनाउनका लागि टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

Batas

उनका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेण्टमा नै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । ‘प्रकृतिले बालबालिकाको भविष्यमा नै पुर्याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो, भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ, पठनपाठन सुरु पनि भइसकेको छ’, अध्यक्ष घलेले भने ।

बाढीपहिरोका कारण स्थानान्तरण भएका बालबालिकाको भविष्यलाई लक्ष्य गरी पठनपाठनको व्यवस्था गरिएको उनले बताए । भर्खरै मात्र कोभिड–१९ बाट केही हदसम्म तंग्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला गाउँपालिकाका जनप्रतिनिधिले सहयोग पुर्याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले बताए ।

उनका अनुसार जनप्रतिनिधिकै सहयोगले यहाँका बालबालिकाले पठनपाठन गर्ने भएका छन् । ‘उहाँहरुको सहयोगले अस्थायी तवरबाट टेण्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चतता गरिदिनुभएको छ’, पन्थीले भने । बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्रांग्रणमा व्यवस्थापन गरिएको छ । बाढीले बालबालिकाको मनोवैज्ञानिक असर पनि पारेको छ । यससँगै बाढीबाट बालबालिकामा पारेको मनोवैज्ञानिक असरलाई समेत निराकरण गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा उनीहरुको महत्वपूर्ण भूमिका र योगदानप्रति तालगाउँवासी खुसी भएका छन् ।

नासों–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ३ मावि र १ आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए ।

‘जोखिमको अवस्थामा तालगाउँका बालाबालिकाका लागि पठनपाठन सञ्चालन गर्न लागिएको छ, टेण्टमा नै तयारी गरिएको छ, बालबालिकाकाको नैसर्गिक अधिकारबाट बञ्चित गराउनु हुँदैन भनेर गाउँपालिकाको सहयोगमा तयारी गरिएको छ’, रेग्मीले भने । बाढीपहिरोपछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उनले बताए ।

त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाश ज्योति माविलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूधखोलाले क्षति पुर्याएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकिँदैन ।

जिल्लाका ४ माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माविमात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भागमात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ ।

रासस

तस्बिरः देयरवल्ड्

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.