www.tandavnews.com
Fact ~ In search of truth

रु २१ लाखको लगानीमा सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

गलेश्वर

भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन् । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गरेको घिमिरेले ७ महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन्, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन् । रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६ सय कालिज हुर्कदै छन् । यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरिसकेका छन् । लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएको हो ।

Batas

‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ’, ३९ वर्षीय फरासिला घिमिरेले भने, ‘५ वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।’

घिमिरेले ७ रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन् । त्यही खोरमा ४ सय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताउँछन् । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा रु ३ हजार ५ सयका दरले बिक्री हुने गरेको उनले जानकारी दिए । कालिजका लागि उनले रैथाने आहारा ‘मकै, गहुँ, कोदो’ का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन् ।
त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए । उनको फार्ममा स्थानीय ३ जना व्यक्तिले रोजगारी पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उनको योजना छ । ५ महिनामा २ किलोभन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ ।

५ देखि ७ महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.