www.tandavnews.com
Fact ~ In search of truth

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा रु ५ खर्ब वैदेशिक व्यापार

नवीन पौडेल

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा रु ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा रु ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्यांकअनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भई रु ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो ३ महिनामा रु २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्यांकानुसार चालू आवको ३ महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ः ११.९७ छ ।

Batas

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो ३ महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा रु ३१ अर्ब ४ करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा रु ६५ अर्ब ५ करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर रु ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो ३ महिनामा व्यापार घाटा रु २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आवको पहिलो ३ महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात ७ दशमलव ३६ गुणाले बढी देखिन्छ ।

डिजेल धेरै आयात

विभागको तथ्यांकानुसार ३ महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो ३ महिनामा करिब १३ करोड लिटर भटमासको तेल रु २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै चालू आवको पहिलो ३ महिनामा मोबाइल, टेलिफोन रु १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल रु १३ अर्ब ४ करोड ५३ लाख ८६ हजार र पेट्रोल रु १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।

भटमासको तेल बढी निर्यात

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागकोे तथ्यांकानुसार स्वदेबाट रु २२ अर्ब २ करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो ३ महिनामा रु ८ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र रु ५ अर्ब ५ करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।

त्यस्तै चालू आवको गत ३ महिनामा लगभग रु २ अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै रु १ अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.