www.tandavnews.com
Fact ~ In search of truth

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

बागलुङ

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’ को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए ।

१२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल– २०७८, रत्यौली, माछा छोप्ने ‘हत्केला खेल्ने’, दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् । महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र सांगीतिक कार्यक्रम पनि हुने उनले जानकारी दिए । “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, संघसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उनले भने ।

Batas

कोरोना संक्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको सांगीतिक प्रस्तुति पनि रहने जनाइएको छ । यसअघि पनि गलकोट उद्योग वाणिज्य संघ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका संघसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए । कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए । अहिले कोरोना संक्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन् ।

गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो । त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.