www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महाधिवेशनः एकता र सहकार्यका लागि अध्यक्ष दाहालको आग्रह

काठमाडौँ

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरुका बीचमा एकता, सहकार्य र साझा संस्कृतिका लागि आह्वान गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २०४६ सालको जनआन्दोलनदेखि पछिल्ला आन्दोलनमा समेत साझा सहकार्यकै कारण सफलता मिलेको स्मरण गरे । उनले एक्लाएक्लै हिँड्ने र अहंकार प्रदर्शन गर्नेहरु राजनीतिक रुपमा ओरालो लागेको बताए ।

Batas

परिवर्तनलाई संस्थागत गर्न गहिरो एकता आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले एक्लै हिँड्ने जस्तो अहंकार नगरी प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक सन्दर्भहरु जोड्दै भने, “हामीले नेपालको राजनीतिक परिवर्तनका क्रममा एकता र सहकार्य प्रदर्शन गरेका छौँ र सफल भएका छौँ ।”

शान्ति प्रक्रियामामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै अध्यक्ष दाहालले काँग्रेससँग आफ्नो विशिष्ट प्रकारको सम्बन्ध रहेको बताए । शान्ति प्रक्रियालाई पूर्णतामा लैजाने, लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने क्रममा कुनै पनि राजनीतिक शक्ति विचलित हुनुहुँदैन भन्ने तर्क गर्दै अध्यक्ष दाहालले राष्ट्रियताको रक्षाका लागि पनि सहकार्य जरुरी रहेको उल्लेख गरे ।

निरंकुशता र तानाशाही प्रवृत्ति विरुद्धको लडाईंमा गरिएको एकतालाई जनताको चाहना अनुसारको विकास र समृद्धिका लागि समेत प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ । आन्दोलनका क्रममा गरिएका प्रतिवद्धतालाई सरकारमा जाँदा हामीले के कति पूरा गर्यौँ भनेर सोच्नुपर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले भने, “किन सत्तामा पुगिपछि नेतृत्वपंक्ति आफनो प्रतिवद्धताबाट विचिलत हुन्छन्, सुशासन दिन सक्दैनन्, भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनन् भन्ने विषयमा खोजी गर्नुपर्ने भएको छ ।”

नेपालमा एउटा अनौठो र सकारात्मक संस्कृति समेत विकास भएको तर्क गर्दै अध्यक्ष दाहालले भने, “हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छौं ।” उद्घाटन समारोहमा शुभकामना दिने क्रममा भारतीय जनता पार्टीका नेता डा. हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्री उपस्थित हुनुलाई अनौठो संयोगको रुपमा चर्चा गरेका थिए । उनको उक्त भनाइप्रति धारणा राख्दै अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।

लोकतान्त्रिक आन्दोलनमा संलग्न भएका, त्याग गरेका नेताको बदनाम गर्ने प्रवृत्तिले तानाशाही जन्माउने भन्दै त्यस्तो प्रवृत्तिप्रति खबरदारी गर्न अध्यक्ष दाहालले आग्रह गरे । देशमा राजनीतिक रुपमा अहसज परिस्थिति आउने हो कि या सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि नै आँच आउने हो कि भन्ने खतरा देखिएको भन्दै उनले त्यस्तो प्रवृत्तिका विरुद्ध सचेत हुँदै एकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले शान्ति वार्ताको श्रेय कांग्रेसका सभापति शेरबहादुर देउवालाई जाने भन्दै उनले नै पत्र लेखेर आफूलाई वार्ताका लागि आग्रह गरेको स्मरण गरे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.