www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दोः वार्षिक साढे ७ करोडको कारोबार

ध्रुवसागर शर्मा
गलेश्वर

म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । सुन्तला खरिद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री गरेर लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् ।

बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले रु पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको ६० वटा बोटमा फलेको सुन्तला रु पाँच लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होइन, बास्कुनाका १९ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ६५ का दरले बिक्री भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका व्यापारीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला किसान समूहमा पनि आवद्ध रहेका किसान गुरुङले बताए ।

Batas

गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरिद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ । “यो वर्ष मेरो बगैँचामा करिब रु छ लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु,” उनले भने ।

वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धानखेती छोडेर व्यावसायिक रुपमा सुन्तलाखेती सुरु गरेका थिए । करिब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगैँचामा अहिले ३५० बोटले फल दिन्छन् भने करिब ४०० नयाँ बोट रोपेका छन् । बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकैखेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् ।

त्यसैगरीे बेनी नगरपालिका– ३ भकिम्लीको राखु गाउँका किसानलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । गाउँघरमा रोपिएका १२ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले ९ हजार जतिले फल दिन थालेको स्थानीयवासी मनकुमारी पुनले बताए । गतवर्ष पुनले सुन्तला बिक्रीबाट रु ३ लाख आम्दानी गर्दा गाउँमा रु ३३ लाखभन्दा बढी नगद भित्रिएको थियो ।

“केही दिनयता १५ जनाले निरन्तर सुन्तला टिपिरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाडौँका व्यवसायीसँग सम्पर्क गरी निर्यात गर्छौं, यो वर्ष गाउँबाट झण्डै रु ४० लाखभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छौं” पुनले भने ।

बास्कुना र राखुमा मात्रै होइन, यतिखेर जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा किसानले धमाधम सुन्तला बिक्री गरिरहेका छन् । अधिकांश बगैँचामा पोखरा, काठमाडौँ र धादिङका व्यवसायीले बोटबाटै सुन्तला खरिद गर्ने गरेका छन् । रघुगंगा गाउँपालिका– १ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला बिक्री गरेका छन् । स्थानीयवासी र बाहिरबाट आएका व्यापारीलाई स्थानीयवासीले बोटबाटै सुन्तला बिक्री गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खरिद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताए ।

घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानले खेती हुनेबारीमै व्यावसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकअनुसार म्याग्दीमा २६५ जना किसानले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । ६१६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक २ हजार २३५ दशमलव ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।

जिल्लाबाट रु ७ करोड ५० लाख बराबरको सुन्तला निर्यात हुनेगरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ठूलो हिस्सा पोखरा, काठमाडौँ, नवलपरासीलगायत ठूला बजारमा निर्यात हुँदै आएको छ । म्याग्दीमा बेनी नगरपालिकासहित बरङजा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.