www.tandavnews.com
Fact ~ In search of truth

हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’

दयाराम आचार्य
कावासोती, रासस ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो ।

करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै बेलुवास्थित खोला छेउको बसपार्क निर्माणस्थलमा टेन्टको टहरामा बसेको तीन महिना पुग्न थालेको छ । पहिराले गाउँ नै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिराबाट विस्थापित तीन परिवार अझै नजिकैको विद्यालयमा तथा दुई परिवार वडा नं १ कार्यालय परिसरमा बस्दै आएका छन् ।

Batas

तेह्र परिवार भने पालमुनि बस्दै आएका छन् । पीडित परिवारको पीडा खपिनसक्नुको छ । पालमुनि बसेर पहिरापीडित अठार परिवारका १२८ जनाले पुसको चिसो सिरेटो र शीतलहरको सास्ती झेलिरहेका छन् ।

६ रोपनी जग्गा र घर भएका तमबहादुर रानाको बास हाल पालमुनि छ । उनको परिवारका आठ सदस्य अहिले सानो पालमुनि अटाएका छन् । उनिसँग अन्य विकल्प छैन । “घर भत्किएको छ, जोत्ने जमिनमा धाँजा फाटेको छ, यहाँ रात काट्न ग्राहो भएको छ”, तमबहादुरले भने, “राति शीत चुहिँदा सुत्नै सकिन्न, हामीसँग विकल्प छैन ।”

चिसो मौसममा पालमुनि बास बस्नु पीडादायी भएको मीनबहादुर सोमैले गुनासो गरे । बालबच्चासहित एउटै पालमा रात काट्नुपर्ने अवस्था छ । चिसोका कारण बालबालिका बिरामी पर्लान् कि भन्ने उनलाई चिन्ता छ । “चिसो छ, बालबच्चा बिरामी पर्लान् कि भन्ने पीर, एउटै टेन्टभित्र बस्नुपरेको छ, योभन्दा पीडा र दुःख केही हुन्छ र ?”, उनले भने, “कहिले टेन्टको बासबाट मुक्ति पाइएला खै ?”

पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ । “काम गरौँ खेत छैन, यहाँ अरु काम पाइँदैन, दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, ३२ वर्षीय पे्रमबहादुर बाह्रघरेले भने । गाउँमा केही गर्छु भनेर बाख्रापालन सुरु गरेका उनले पहिराका कारण ५० बाख्रा पनि सस्तोमै बिक्री गरे । “केही गर्छु भनेर बाख्रापालन सुरु गरेँ, गाउँ नै छाड्नुपरेपछि बिचल्ली भयो”, उनले भने, “अहिले यहाँ एउटा कुखुरा पाल्ने ठाउँ छैन, के गरी गुजारा चलाउने ?”

पहिरापीडित परिवारलाई जुकेपानीस्थित शिवालय सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा टिनको अस्थायी टहरा निर्माण गरेर व्यवस्थापन गर्न काम सुरु गरिएको छ । पहिराबाट पीडितको व्यवस्थापनका लागि टहरो निर्माणको काम चलिरहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए । जाडो मौसम सुरु हुनुपूर्व नै सार्ने भनिएको भए पनि विविध कारणले ढिला भएको उनले बताए ।
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.