www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

तनहुँ।

बन्दीपुर गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ । बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो ।

वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिइने उनले बताए । “कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ”, उनले भने । स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको हो ।

जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले बताए । उाले भने, “गाउँपालिकाले रु १४ लाख मूल्य बराबरको किसानलाई कृषि औजार प्रदान गरेको छ ।” जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिनेछ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.